बिहिबार, बैशाख १३, २०८१

नवलपरासीमा पशु बिमा गर्ने किसान बढे

नवलपरासी, ४ वैशाख । नवलपरासीमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेसँगै पशु बिमा गर्ने किसानको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ ।
विभिन्न बिमा कम्पनीमार्फत पशु बिमा गराउने किसानको सङ्ख्यामा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
पशु विकास कार्यालयका प्रमुख शङ्कर साहका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ५०० पशुको बिमा गरिएको थियो । बिमा गराइने पशुमध्ये गाईको सङ्ख्या उल्लेख्य छ । जिल्लामा भैँसी, बाख्रा, बङ्गुरलगायतका पशुको पनि बिमा गर्ने चलन बढेको छ । साहका अनुसार गत वर्षमा बिमा गरिएका ५०५ पशुमध्ये ११५ वटा पशु मरेका थिए । मर्नेमा ७५ वटा गाई, २८ वटा भैँसी, पाँचवटा बाख्रा, तीन बङ्गुर र चार पाडा छन् ।
मरेका सबै पशुको बिमा कम्पनीले भुक्तानी दिएपछि किसानमा बिमाप्रति आकर्षण बढेको युवा एकीकृत कृषि तथा पशुपालन समूह रामनगरका सञ्चालक सूर्य न्यौपानेले बताए । नवलपरासीमा यसवर्ष तीन हजार ५७५ गाईको बिमा गरिएको छ ।
बाख्राको रु एक करोड २५ लाख, बङ्गुरको रु ७५ लाख र पाडाको रु ५० लाखको बिमा गरिएको जिल्ला पशुसेवा कार्यालय नवलपरासीले जनाएको छ । पशु बिमा, निर्जीव बिमा अन्तर्गत गरिने गरिएको छ । गत आर्थिक वर्षमा किसानले पशु मरेपछि बिमा गरिएका पशुको रु एक करोड भन्दा बढी क्षतिपूर्तिबापतको रकम पाएको जिल्ला पशुसेवा कार्यालय नवलपरासीले जनाएको छ ।
पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालय प्रमुख साहले बताए ।

प्रकाशित मिति: शनिबार, बैशाख ४, २०७३