बिहिबार, चैत्र १५, २०८०

नब्बे गैँडा तस्कर अझै फरार

चितवन, वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० जना विभिन्न कारागारमा कैदीका रुपमा छन् । फरार दोषीको खोजी भइरहेको छ ।
“तल्लोदेखि माथिल्लो तहसम्म खोजी भइरहेको छ,” उनले भने। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, निकुञ्ज विभागको वन्यजन्तु अपराध नियन्त्रण इकाइ, जिल्ला प्रहरी कार्यालय र तिनका मातहत कार्यालय, निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले पनि फरार अभियुक्तको खोजी गरिरहेको छ ।

स्वदेश र विदेशमा लुकीछिपी रहेका तस्करको खोजी जारी रहेको अर्यालले बताए। त्यस्ता व्यक्तिविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरी विदेशका विभिन्न मुलुकमा खोजी जारी राखिएको छ । यसै क्रममा २०७१ सालमा मलेसियामा रहेका राजकुमार प्रजालाई त्यहाँको प्रहरीले पक्राउ गरी पठाएको थियो । उनीविरुद्ध २० वटा गैँडा मारेको अभियोग लागेको छ ।

सन् १९९५ यता निकुञ्जमा तस्करले १७६ गैँडा मारेका थिए । त्यस समय र त्योभन्दा अघिदेखिका फरार तस्करको खोजी भइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी गैँडा तस्करले मारेका थिए । विसं २०५८ देखि २०६३ सम्म १०६ गैँडा तस्करले मारेको निकुञ्जले जनाएको छ ।
सन् २००२ मा मात्रै ३५ गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा शून्य चोरीशिकार हुँदै आएको छ । विसं २०६८ यता तीनवटा गैँडा तस्करले मारेका छन् । सन् २०११, २०१३, २०१५ र २०१६ शून्य चोरीशिकार वर्ष भएका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५