शुक्रबार, चैत्र १६, २०८०

धान दिवस : आगामी आवमा धान उत्पादन बढ्ने प्रक्षेपण

काठमाडौँ, १५ असार । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।ropai-15
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको बताउँछन् धान विज्ञ भोलामानसिंह बस्नेत । यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको जानकारी उनले दिए।
विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । नब्बे ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञ बस्नेतको अनुभव छ ।
नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।
मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुन्छ । मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा धान खेती हुन्छ । तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको ६३ जातका धानको खेती गरिन्छ । चालु आर्थिक वर्ष २०७३÷७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क मन्त्रालयसँग छ । आगामी आव २०७४÷७५ मा ५४ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखिएको मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए ।
धान उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएकैले आगामी आवमा आर्थिक वृद्धिदर साढे सातबाट उकालो लाग्ने विश्वास गरिएको छ । यसैले यस वर्षको धान दिवसको नारा ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने तय गरिएको छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् ।
धान रोपाइँमा दहीच्यूराको संस्कृति
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । – पूर्णप्रसाद मिश्र

प्रकाशित मिति: बिहिबार, असार १५, २०७४