शुक्रबार, बैशाख ७, २०८१

धान उब्जनी १२ प्रतिशतले बढ्यो

सिमकोट, मङ्सिर ४  । हिमाली जिल्ला हुम्लामा यस वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । धानमा बर्र्सेनि रूपमा लाग्ने रोग नलाग्नुु र धान लगाउने समयमा पानी पर्दा समयमै किसानले धान खेती लगाउन पाउँदा धानको उत्पादनमा वृद्धि भएको हो । गत वर्षभन्दा धान उत्पादन बढी भएको बताउँदै चंखेली गाउँपालिका वडा नम्बर ३ माटावाडाका हेमलाल चौलागाईले एक रोपनीको खेतमा तीन क्वीन्टल धान फलेको बताउँदै गत वर्ष सोही खेतमा डेढ क्वीन्टल मात्र धान फलेको बताए । यस वर्ष सबैतिरका किसानको खेतमा धानखेती राम्रै फलेको उनले  बताए। समयमा पानी पर्नु र धान बालीमा रोग नलाग्नुु नै यस वर्ष धान राम्रो फलेको चौलागाईले बताए।
यस वर्ष हुम्ला जिल्लाभरिमा धान खेतीमा १२ दशमलव आठ प्रतिशत उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत पूर्णलाल सापकोटाले बताए । यस वर्ष ५८७ हेक्टर खेतमा धान लगाएकोमा ८९१ मेट्रिकटन धान उत्पादन वृृद्धि भएको उनले  बताए । जब कि गत वर्ष ५८५ हेक्टरमा धान लगाउँदा ७८९ दशमलव ८७ मेट्रिकटन धान उत्पादन भएको प्रसार अधिकृत सापकोटाले बताए । यस हिसाबले गत वर्षभन्दा हुम्ला जिल्लामा १०२ मेट्रिकटन धान बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जुुन जिल्लाका लागि खाद्यान्न उत्पादनका क्षेत्रमा सकारात्मक पक्ष हो ।

प्रकाशित मिति: सोमवार, मंसिर ४, २०७४