बुधबार, बैशाख १२, २०८१

दोलखाका किसान किबीखेतीतर्फ

दोलखा, चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् । किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई किबी पकेट क्षेत्रका रूपमा अगाडी बढाएको छ ।
किबीखेतीसँगै यहाँ अलैँचीका बिरुवा वितरण गरी कार्यक्रम सञ्चालन गरिएको छ । बाह्र हजारभन्दा बढी किबीका बिरुवा किसानलाई वितरण गरिएको जिरी सेवा केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले जानकारी दिएका छन् । कृषिलाई आधुनिकीकरण गरी किसानलाई कृषिमा नै आत्मनिर्भर गराई उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजना लागू गरिएको हो । पकेट क्षेत्रका किसानलाई प्रत्यक्ष सहभागी गराउनका लागि अहिले कृषि विकास कार्यालयले बिरुवा वितरणदेखि मल, आवश्यक थाक्रा, कृषि औजारलगायत सामग्री आधा मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
किबी फल भण्डारणका लागि चिस्यान केन्द्रको समेत व्यवस्था गर्ने कार्यालयले जनाएको छ । सामूहिक रूपमा खेती गर्न चाहने समूहलाई विशेष प्राथमिकता दिएपछि किसान सामूहिक खेतीतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २९, २०७३