बिहिबार, चैत्र १५, २०८०

दैनिक एक हजार किलो च्याउ उत्पादनको योजना

उर्लाबारी,  १० फागुन। कोही पराल काट्ने, कोही पराल उसिन्ने, कोही प्लास्टिकमा उसिनेको पराल भर्ने, कोही बीउ हाल्ने त कोही अँध्यारो छाप्रामा पोका झुण्ड्याउने । ४० जना कामदारले दैनिक रूपमा काम गरिरहेको यो दृश्य हो– दैनिक एक हजार किलो च्याउ उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनाका साथ उत्पादन अभियानमा लागेको मोरङको उर्लाबारी–३ स्थित विनय च्याउ उद्योगको । 
विनय च्याउ उद्योग २०६४ मा घरेलु तथा साना उद्योग विराटनगरमा दर्ता भएको हो । उद्योगले सुरुमा ६० हजार रुपियाँ लगानी गरी केही वर्ष मौसमी उत्पादन गरेको थियो । माग बढेपछि २०६६ यता उद्योगले च्याउको व्यावसायिक उत्पादन गरिरहेको छ । उद्योगले एक दशकमा च्याउ उत्पादन पनि १० गुणाले नै वृद्धि गरेको छ । साविक उर्लाबारी–६ को आफ्नै घर परिसरमा उत्पादन सुरु गरेको उद्योगले हाल पूर्वपश्चिम राजमार्गको किसानचौक नजिक साढे चार कट्ठा जमिन लिजमा लिएर व्यवसाय विस्तार गरेको छ ।

च्याउका पोका झुण्ड्याउन उद्योगले ३६ वटा टहरा निर्माण गरिसकेको छ । उद्योगका सञ्चालक उदयचन्द्र श्रेष्ठले भने, एउटा टहरामा एक हजार दुई सय पोका झुण्ड्याउन सकिन्छ । दैनिक एक हजार केजी उत्पादन लिने लक्ष्यका साथ उद्योग विस्तार भएको बताउँदै उनले यस वर्ष १५ लाख रुपियाँको त पराल मात्र खरिद गरेको जानकारी दिए  ।  वर्षैभरि उत्पादन लिन सकियोस् भनेर आफैँ बीउ उत्पादनमा पनि लागेको र पूर्वाञ्चलको माग धान्ने गरी व्यापार विस्तार गर्न लागेको समेत बताए ।
व्यवसाय विस्तारसँगै उद्योगमा थप रोजगार समेत सिर्जना भएको छ । विगतमा १५ जनाले रोजगार पाएको उद्योगमा हाल ४० जनाले काम गरिरहेका छन् । हालसम्म डेढ करोड रुपियाँ लगानी गरिसक्नुभएका उद्योगी श्रेष्ठ भने, राज्यले किसानलाई सक्छ भने अनुदान दिनुप¥यो सक्दैन भने सस्तो ब्याजमा ऋण दिनुप¥यो  ।
अझै पनि सुख्खा मौसममा भारतीय च्याउ आयात हुने गरेको व्यापारीहरू बताउँछन् । श्रेष्ठ भन्छन्, आयातलाई निरुत्साही गर्न स्वदेशमा उत्पादन गर्ने वातावरणका लागि सरकारी सहयोग आवश्यक छ । बजारमा प्रतिकेजी दुई सय रुपियाँसम्म बिक्री हुने च्याउ उद्योगबाट प्रतिकेजी १२० रुपियाँमा बिक्री हुने गरेको छ । लक्ष्य अनुसार उत्पादन हुन सके वार्षिक चार करोड ३८ लाख रुपियाँको च्याउ विनय च्याउ उद्योगले बजारमा पठाउने छ । च्याउ बजारमा खपत नभए अचार र सुकुटी बनाउने गरेको उद्योगकी सञ्चालिका निशा श्रेष्ठले बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा चीनबाट ४७ लाख ९९ हजार ६०६ रुपियाँको ३७ हजार ७६२ केजी र थाइल्यान्डबाट २६ हजार २८ रुपियाँको १२० केजी च्याउ आयात भएको थियो । तर गत आर्थिक वर्षमा च्याउको आयात चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १०, २०७४