मङ्लबार, चैत्र ६, २०८०

दूध व्यापारीसँग गले कृषि मन्त्री चक्रपाणी खनाल

काठमाडौं, असार । केही दिन अगाडि बालाजु औद्योगिक क्षेत्र र आसपासका डेरी उद्योगमा अनुगमन गर्न पुगेका कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्योगमा भेटिएका मिति उल्लेख नगरिएका धूलो दूध नष्ट गर्ने भनिएपनि त्यही दूधलाई तरल दूध बनाएर बजारमा पठाइएको छ ।
दूधमा सोडा तथा युरिया मिसिएको भन्दै मन्त्रीले सञ्चार माध्यममा दिएको अभिव्यक्ति गर्दै निजी डेरी मात्र होइन सरकारी दुग्ध विकास संस्थानले उत्पादन गरेको दूधको विक्री पनि रातारात घटेको छ । उपभोक्ताहरुलाई सोडा मिसिएको र युरिया मिसिएको दूध विक्री गरिरहँदा पनि मन्त्रीले कार्वाही प्रक्रिया भने अगाडि बढाउन सकेनन् ।
यद्यपी मन्त्रालयले कार्वाही प्रक्रिया अगाडि नबढाएपनि उपभोक्ता आफै सजग भई डेरीबाट उत्पादन भएका दूध खरिद नगरेपछि दूधको विक्री घटेको भन्दै डेरी उद्यमीहरु कृषि मन्त्रीसँग रोइलो गर्न पुगेका थिए ।
उनीहरुले मन्त्रीलाई अनुगमनका लागि सहयोग गर्ने तर सञ्चारमाध्यम लिएर अनुगमन गरिएकाले दूधको विक्री घटेको आरोप लगाए । ‘सोडा र युरिया मिसिएको अभिव्यक्ति मन्त्रीले नदिएको भए हुन्थ्यो बरु उद्योगीहरुले मन्त्रीलाई सहयोग तत्पर रहने भद्रसहमति गरिएको’ छलफलमा सहभागी एक उद्यमीले कृषिअनलाईनलाई बताए ।
उद्योगीहरुले मन्त्रीलाई सहयोग गर्ने बताएपछि मन्त्री खनालले ‘गल्ती भएको’ स्वीकार गरेको समेत उनले बताए । ठूलो डेरी उद्योगीहरुसँग सोमबार भएको छलफलमा कृषि मन्त्री चक्रपाणी खनाल गलेका छन् । भद्र सहमति गरेर उनले उपभोक्ताहरुमाथि घात गरेका छन् ।
मन्त्रीले अनुगमन गरेपश्चात डेरी उद्योगसँग भएको म्याद नखुलेका धूलो दूधलाई तरल बनाएर एकसातादेखि बजारमा पठाउने काम निजी डेरीले गरेका छन् । यस अवधिमा उपभोक्ताको स्वास्थ्य माथि खेलबाड भएको छ । कृषि मन्त्री र ठूला डेरीको भद्र सहमति गरेर गुणस्तरहीन, अखाद्य धूलो दूध विक्री गर्न लगाउनुलाई आम नागरिकले कसरी बुझ्ने ?
कृषि मन्त्री खनालले भनेका थिए, ‘म्याद उल्लेख नगरिएका धूलो दूध नष्ट गरिन्छ’ तर मन्त्रीज्यू डेरीमा अनुगमन गर्न जाँदा फेला परेका मिति गुज्रिएका धूलो दूध कहाँ गयो ? अहिले बजारमा पठाइएका दूधको गुणस्तर किन जाँच गरिएन ? आम उपभोक्ताहरुको प्रश्न छ खै कहाँ हराए उपभोक्तावादी संस्थाहरु ?

प्रकाशित मिति: मङ्लबार, असार ५, २०७५