शुक्रबार, चैत्र १६, २०८०

दूध कृषकका माझ ‘मिल्क एनलाइजर’ प्रविधि लोकप्रिय

dudh

 

काभ्रे, ६ चैत्र । जिल्लाको मण्डनभेगमा रहेको आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाले अहिले दूध संकलनमा आधुनिक प्रविधि अपनाउन थालेको छ। ‘मिल्क एनलाइजर’ नामको यस कम्प्युटर प्रविधिबाट दूध संकलन गर्न थालेपछि छोटो समयमा कृषकको दूधको गुणस्तर जाँच गर्न सकिने संस्थाले जनाएको छ। आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाजस्तै दूध संकलनका लागि देशकै नमुना काभे्र जिल्लाका अन्य संस्थाले पनि यो प्रविधि अपनाउन थालेपछि पछिल्ला दिनमा कृषकको आर्कषण यसप्रति बढेको छ। गत पुसबाट सञ्चालनमा ल्याइएको यस प्रविधिबाट दूधको गुणस्तर जाँच गर्न थालिएपछि संस्थालाई मासिक ५० हजार रुपियाँसम्म नाफा हुने संस्थाका अध्यक्ष कृष्णप्रसाद नेपालको भनाइ छ। दुग्ध विकास संस्थानको एक लाख रुपियाँको अनुदान सहयोग र बाँकी संस्थाबाटै लगानी गरी करिब ३ लाख ६० हजार रुपियाँमा यस्तो प्रविधि ल्याइएको अध्यक्ष नेपालले जानकारी दिनुभयो।

यस प्रविधिअन्तर्गत कृषकबाट उत्पादित दूध कम्प्युटरबाट परीक्षण गरिन्छ। ४० सेकेन्डभित्र कृषकले आफ्नो दूधको गुणस्तर कस्तो छ र कति मूल्यमा बेचियो त्यसको जानकारी पाउने गर्दछन्। तुरुन्तै उनीहरूलाई जानकारी दिइने हुँदा समयको पनि बचत रहेको कृषक एवम् संस्थाका सल्लाहकार केशव नेपालको भनाइ छ। यो प्रविधिसँगै कृषकले दूधको गुणस्तरमा ध्यान दिन थालेको पाइएको उहाँले बताउनुभयो। मिल्क एनलाइजर प्रविधिको फाइदा पक्ष धेरै रहेकाले विस्तारै यो जिल्लाका अन्य संस्थाले पनि सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ।

मिल्क एनलाइजर एउटा दूध गुणस्तर मापनको कम्प्युटर प्रविधि हो। यसअन्तर्गत दूधको परीक्षण गर्दा कृषकले दूधमा पानीको मिसावट गरेको छ कि छैन भनेर पनि तुरुन्तै जानकारी हुन्छ। साथै कृषकले बेचेको दूधको दैनिक हिसाबको पनि जानकारी हुने हुँदा कृषक माझ यो लोकप्रिय रहेको बताइएको छ। यस्तो प्रविधि जडान नगर्दा कृषकको दूध परीक्षणमा धेरै समय लाग्ने गर्दथ्यो। कृषकले दुधमा पानी धेरै मिसाउने र संस्थालाई घाटा हुने समस्या थियो। साथै १ महिनापछि मात्र दूधको हिसाब आउथ्यो। ‘अहिले त्यस्तो छैन’ संस्थाका व्यवस्थापक अर्जुन भुजेल भन्नुहुन्छ–‘पहिलेभन्दा अहिले काम गर्न पनि सजिलो र छिटो भएको छ।’ छोटै समयमा यो प्रविधिलाई किसानले मन पराएको उहाँको दाबी छ।

झण्डै २ दशकदेखि दूध संकलन गर्दै आएको आँपघारी दूग्ध उत्पादक सहकारी संस्थाले हाल १ सय १० जना सदस्यबाट दैनिक करिब ६ सय लिटर दूध संकलन गर्दै आएको छ। जिल्लामा अहिले २ सय ६६ वटा दुग्ध उत्पादक संस्थाले दैनिक २ लाख लिटरभन्दा बढी दूध संकलन गरेर राजधानी पठाउँदै आएका छन्। -समाचारपत्रबाट

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०