मङ्लबार, बैशाख ४, २०८१

दूधको मूल्य बृद्धिसँग भारतीय दूध धमाधम आउँदै

चितवन, असोज । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भाद्र २१ गतेदेखि लागू हुने गरी दूधको मूल्य बृद्धि गरेसँगै दुग्ध विकास संस्थान एवं निजी डेरी उद्योगहरुले भारतबाट दूध आयात गर्न थालेका छन् । नेपालका किसानहरुसँग दूध खरिद गर्नु भन्दा भारतबाट दूध आयात गर्दा सस्तो पर्ने भन्दै उद्योगीहरुले भारतबाट दूध ल्याउन थालेका हुन् ।

सरकारी डेरी उद्योगका रुपमा रहेको दुग्ध विकास संस्थानले किसानहरुलाई भुक्तानी दिन ढिलाई गरिरहेको छ । नेपाली किसानहरुले संस्थानसँग लिनु पर्ने भुक्तानी वाँकी धेरै नै छ, किसानहरुलाई भुक्तानी दिन छाडेर संस्थानले भारतबाट दुध ल्याउन थालेपछि किसानहरु रुष्ट बनेका छन् ।
दूध उत्पादनको प्रमुख केन्दविन्दूका रुपमा रहेको चितवनका किसानहरु दुग्ध विकास संस्थान र निजी डेरीहरुसँग सन्तुष्टि हुन सकेका छैनन । डेरी उद्योगहरुले दूध अभाव भएको बहानामा भारतबाट दूध आयात गरिरहेका छन् । यसैसाता मात्र दुग्ध विकास संस्थानले शनिबार मात्र एक लाख लिटर दूध भारतबाट आयात गरेको छ । भने आजभोली नै थप एक लाख लिटर दूध ल्याउन लागेको श्रोत बताइएको छ ।

भारतबाट ल्याइएको तरल दूधलाई चितवन मिल्कमा भण्डारण गरेर धूलो दूध बनाउन लागिएको छ । नेपाली दूध उत्पादक किसानहरुको भुक्तानी रोकेर भारतबाट नगद खरिद गरेर दूध आयात गरेकै कारण किसानहरुले वाँकी भुक्तानी पाउन सकेका छैनन । अहिले दूध अभाव नहुँदा पनि भारतबाट दूध किन खरिद गरियो भन्ने प्रश्न उब्जन थालेको छ ।
चितवन स्थित कँडेल काउ फार्मका सञ्चालक डिलाराम कँडेलका अनुसार अहिले चितवनका किसानहरुले दुग्ध विकास संस्थानबाट पाउनु पर्ने भुक्तानी पाउन सकेका छैनन् । किसानको भुक्तानी तत्काल उपलब्ध गराउन पटक पटक आफूले आग्रह गर्दा पनि संस्थानका उच्च अधिकारीहरुले चासो नदिएको कँडेलको आरोप छ ।
दुग्ध विकास सस्थानमा चरम भ्रष्टाचार र वेथिति हुने गर्दछ । चितवनमा किसानहरुबाट संकलन गरिने दूधमा पानी मिसाएर नक्कली किसान खडा गरी दूध खरिद गरेको देखाउँदै आर्थिक हिनामिना गर्ने गरेको तथ्य विगतमा नै कृषि अनलाईनले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७६