शुक्रबार, चैत्र १६, २०८०

दुग्ध विकास संस्थान आफै मिल्क होलिडे गराउँदै

काठमाडौं, कार्तिक । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरुले उत्पादन गरेको दुधलाई उचित स्थान दिंदै मिल्क होलिडे हुन नदिने प्रतिवद्धता जनाईरहेको छ । तर त्यही मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थान भने मिल्क होलिडेलाई प्रश्रय द्रिदै आईरहेको छ ।
मिल्क होलिडेको अवस्था श्रृजना गरी भारतीय अमूल कम्पनीलाई भित्र्याउने षडयन्त्र बनिरहेका बेला दुग्ध विकास संस्थाले किसानहरुले उत्पादन गरेको दूध तीन दिनसम्म उठाएन । जसले गर्दा मिल्क होलिडेको अवस्थाको श्रृजना भएको छ ।
सरकारको मातहतमा रहेको दुग्ध विकास संस्थान भित्रका कर्मचारी तथा पदाधिकारीहरुको स्वार्थका लागि दूध अत्यधिक संकलन भएको बहाना बनाउँदै किसानसँग दूध संकलन गर्न नसकिने व्यहोराको पत्र संस्थाले पठाएको छ । जसले गर्दा कार्तिक १३ गतेदेखि १५ गतेसम्म दुग्ध विकास संस्थानले किसानहरुले उत्पादन गरेको दूध संकलन गरेको छैन ।
दुग्ध विकास संस्थानले दूध संकलन नगर्दा दैनिक करोडौं रुपैयाँ बराबरका नोक्सान दूध उत्पादन कार्यमा संलग्न किसानहरुले व्यहोर्नु परेको छ । एकातिर दुग्ध विकास संस्थान दूध उत्पादन नभएका कारण भारतबाट पाउडर दूध आयात गरी तरल दूधमा रुपान्तरण गरी उपभोक्तामा विक्री वितरण गर्न अर्कोतिर दूध भण्डारण गर्ने ठाउँ अभाव भन्दै किसानसँग दूध संकलन गर्ने कार्यलाई रोक्न उर्दी जारी गर्नुलाई संस्थान पनि अमूल भित्र्याउने खेलको एउटा पात्रका रुपमा चिनिन थालेको छ ।
‘आफूहरुसंग धूलो दूध प्रशस्त स्टक रहेको र धूलो दुध उत्पादन कारखाना समेत सञ्चालनमा नआएकाले किसानसँग दूध संकलन गर्न नसकिएको’ दुग्ध विकास संस्थानका निमित्त महाप्रवन्धक ईश्वरी न्यौपाने बताउँछन् ।
किसानहरुको दुध संकलन नगरिनुको कारण अरु केही नभएर भ्रष्ट कर्मचारीको मिलेमतो र आर्थिक अनियमितताका लागि दूध संकलन नगरिएको नेपालको सवैभन्दा ठूले गाई फार्म सञ्चालन गरिरहेको शशि पौडेलले बताए । पौडेल भन्छन्, ‘दुग्ध विकास संस्थान र आयोजनामा भ्रष्ट कर्मचारीहरुको राज छउञ्जेल किसानहरुले उचित मूल्य पाउन सक्दैनन।’
दुग्ध विकास संस्थानले किसानहरुको दूध संकलन नगरेको विषयमा राष्ट्रिय व्यवसायिक दूध उत्पादन तथा कृषक समाज नेपालका सहकोषाध्यक्ष एवं कँडेल गाई फार्मका प्रवन्ध सञ्चालक डिलाराम कंडेलले डिडिसी र मन्त्रालयको समेत मिलेमतोमा अमूल भित्र्याउने रणनीति स्वरुप किसानसँग दूध संकलन नगरी सडकमा फाल्न वाध्य बनाउन खोजेको आरोप लगाए ।

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५