शुक्रबार, चैत्र १६, २०८०

दुग्ध उत्पादक किसानलाई विभेद गदै भरतपुर महानगरपालिका

चितवन, जेठ । प्रदेश नं. ३ मा पर्ने भरतपुर महानगरपालिकाले किसानहरु वीच विभेदपूर्णकारी नीति कार्यान्वयन गरेको कारण दुग्ध उत्पादन गरिरहेका किसानहरु वीच फाटो उत्पन्न हुने भएको छ । महानगरपालिकाको आर्थिक समितिले किसानहरुलाई उपलब्ध गराउँदै आएको अनुदानमा किसान वीचमा नै विभेद गरेको छ ।
दूध उत्पादनका लागि प्रमुख केन्द्रका रुपमा मानिएको चितवन जिल्लाका दुग्ध उत्पादक किसानहरुलाई विभेद गर्दै दूधमा दिँदै आएको अनुदानमा रोक लगाएको छ । दुध उत्पादनका लागि चितवनमा सहकारीहरुसँगै निजी फार्महरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर महानगरपालिकाले भने सहकारीको विकासका लागि भन्दै दूधमा प्रति लिटर २५ पैसा अनुदान दिँदै आएको छ । त्यसरी दूध उत्पादन गर्ने किसानहरुलाई दिएको अनुदान प्राइभेट फार्महरुलाई भने रोकिएको छ ।
दूधमा दिने अनुदान कार्यविधिले नै सहकारीमा आवद्ध किसानहरुलाई मात्र अनुदान दिने उल्लेख भएकाले निजी गाई फार्महरुलाई अनुदान नदिएको भरतपुर महानगरपालिकाका कृषि शाखाका प्रमुख विनोद लामिछानेले बताए ।
उनले कार्यविधिले सहकारीमा आवद्ध किसानलाई मात्र अनुदान दिने नीति भएकाले अन्य किसानलाई अनुदान प्रवाह गर्न नसक्ने समेत बताए । महानगरपालिका ल्याएको विभेदपूर्ण अनुदान कार्यविधिका कारण दूध उत्पादनका संलग्न अन्य किसानहरु भने रुष्ट बनेका छन् ।
चितवन महानगरपालिका वडा नं. ४ मा विगत दुई दशकदेखि कँडेल काउ फार्म सञ्चालन गरी दुग्ध विकास संस्थानलाई दूध उपलब्ध गराउँदै आईरहको फार्मका सञ्चालक डिलाराम कँडेलले महानगरले किसानहरुलाई विभेद गरेकोमा रुष्ट बनेका छन् ।
दूधमा दिने अनुदान सहकारीले मात्र पाउने कार्यविधि बनाएर किसानहरु वीच फुटको वातावरण बनाउन लागेको उनले आरोप समेत लगाएका छन् । बर्षौदेखि फार्म सञ्चालन गरेकाहरु अव अनुदानको लागि सहकारीमा आवद्ध हुनु पर्ने नीति उचित नभएको उनको भनाई थियो । यस्तो कार्यविधिले दूध उत्पादनमा महत्वपूर्ण भूमिका खेलेका निजी डेरीहरु विस्थापित हुन सक्ने चेतावनी पनि उनले दिए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १३, २०७६