शुक्रबार, बैशाख ७, २०८१

दुई अर्बको लागतमा चिनी मिल

sugarजनकपुरधाम । उखु उत्पादनमा लागेका किसानहरुले उखुको मूल्य नपाएको चर्चा चलिरहेका बेला पूर्वी धनुषासँग सिमाना जोडिएको सिरहा जिल्लाको चन्द्रअयोध्यापुर गाविसमा भने रु दुई अर्बकोे लागतमा हिमाल सुगर मिल्स लिमिटेडको निर्माण कार्य सुरु गरिएको छ ।
पचपन्न बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो चिनी मिल निजीस्तरमा सञ्चालित पूर्वाञ्चलको दोस्रो हो । दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमताको सो मिलमा प्रतिदिन दुई हजार ५०० उखु पेल्ने काम हुनेछ ।
आर्थिक वर्ष २०७१÷७२ देखि सो मिल सञ्चालनमा आएपछि एक हजार कामदार प्रत्यक्ष रोजगारी पाउनाका साथै अप्रत्यक्ष रूपमा लाखौँ परिवार लाभान्वित हुने उखु मिल व्यवस्थापन समितिले जनाएको छ ।
जनकपुर निवासी सुरेशकुमार सर्राफले निर्माण गर्न लाग्नु भएको सो मिलले सिरहा र सप्तरी जिल्लालाई लक्ष्यित गरी उखुखेती विस्तार गर्ने तथा किसानलाई आत्मनिर्भर बनाई आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको उखु प्रबन्धक कृष्णचन्द्रलाल कर्णले बताउनुभयो ।
मिलले किसानलाई उखुखेतीतर्फ आकर्षित गर्न प्रतिबिघा रु दुई हजार ५०० का दरले नगद अनुदान दिइआएको छ । मिलले हालसम्म ४५ हजार किसानलाई अनुदान रकम वितरण गरिनाका साथै किसानलाई कृषि उपकरणसमेत अनुदानमा उपलब्ध गराएको छ ।
कारखानालाई दैनिक ४० लाख क्विन्टल उखु आवश्यक पर्नेछ जुन सिरहा र सप्तरी जिल्लाका किसानसँग खरिद गरिने छ ।
औद्योगिक क्षेत्रका रूपमा अगाडि बढिरहेको यस क्षेत्रलाई औद्योगिक करिडोरका रूपमा विकास गरी विद्युत् सङ्कटबाट मुक्त पार्नुपर्ने माग उद्योगपतिको रहेको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १४, २०७०