बिहिबार, बैशाख १३, २०८१

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

दाङ,  असोज : दाङका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गरेका हुन् । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिए ।
लम्सालले हाल सात बिगाहा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराको बिरुवा लगाएका छन् अन्य तीन बिगाहामा केरा लगाउने तयारी गर्दै छन् । उनले अहिलेसम्म रु ४९ लाख लगानी गरिसकेका छन् ।
दाङमा केराखेतीका लागि अनुकूल मौसम छ र यहाँ एक बिगाहामा ३० टन केरा उत्पादन हुने गर्छ । उनले सातजनालाई रोजगारी समेत दिएका छन् । लम्सालले भने, “जागिर खानु र विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही नमूनायोग्य काम गर्ने उद्देश्यले केराखेती शुरु गरेको छु । अबको एक वर्षमा यसबाट राम्रो आम्दानी दिनेछ भन्ने आशा छ ।”
दाङमा व्यावसायिक केराखेती नहुँदा अन्य जिल्लाबाट केरा आयात हुने गरेको छ । लम्सालका अनुसार दाङलाई केराखेतीमा आत्मनिर्भर बनाउन सकिन्छ । उनले पाँच बिगाहा जमिनमा थोपा सिँचाइबाट र पाँच बिगाहा जमिनमा परम्परागत सिँचाइ हुने व्यवस्था मिलाएका छन् । “राम्रोसँग केरा फलेमा एककट्ठा जमिनबाट वार्षिक रु १० हजारसम्म आम्दानी लिन सकिने उनी बताउँछन्।

प्रकाशित मिति: सोमवार, अशोज १६, २०७४