बिहिबार, बैशाख १३, २०८१

तुलसीपुर उपमहानगरले बगर खेती गर्नेलाई अनुदान दिने

दाङ । जिल्लामा रहेको कृषि कार्यालय खारेजी भएसँगै कृषिको जिम्मेवारी स्थानीय तहमा गईसकेको छ । स्थानीय तहलाई दिएको अधिकारलाई प्रयोग गर्दै दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्र भित्र त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रूपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ ।
नगरप्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताए । प्रमुख पाण्डेका अनुसार ३० कठ्ठासम्ममा बगरखेती गर्नेलाई रु एक लाख बराबरको विभिन्न सहयोग गरिने छ । त्यसैगरी व्यावसायिक रूपमा बसन्ती मकैखेती गर्ने किसानलाई पनि बीउको सम्पूर्ण अनुदान दिने र बजारीकरणका लागि सहयोग गरिने भएको छ ।
उपमहानगरपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि आयोजना गरिएको कृषक भेलामा बोल्दै नगर प्रमुख पाण्डेले उपमहानरपालिकाको धारणा सार्वजनिक गरेका हुन् । उनले उपमहानगरपालिकालाई हरियाली बनाउन किसानलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि बगरखेतीको अवधारणा ल्याएको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५