शुक्रबार, चैत्र १६, २०८०

तीन वैठक गरेर अनुदानको नब्बे लाख कर्याप्पै

काठमाडौं, पौष । कृषि विकास मन्त्रालयले वितरण गरेको अनुदान कसरी दुरुपयोग हुन्छ भन्ने कुराको प्रमाण पुष्प व्यवसायीको संस्थाले देखाईदिएको छ । कृषि विकास मन्त्रालयबाट गत बर्ष ५ करोड २५ लाख अनुदान हात पार्न सफल फ्लोरिकल्चर एशोसिएसन नेपालले ३ करोड रुपैयां काम नै नगरी निकास गर्न लागेको समाचार कृषि अनलाईनमा प्रकाशित भए पश्चात मन्त्रालयले सो रकम निकासा रोकेको थियो । fan
फाइदा कमाउने उदेश्यले सञ्चालन गरिएको नर्सरी व्यवसायीहरुको संस्थालाई गत बर्ष नै काम गर्न नसकी ३ करोड रोक्का गरेपछि फेरि कृषि विकास मन्त्रालयले चालु आवमा पनि ४ करोड ७४ लाख रुपैयां बजेट छुट्याएको छ । कृषि विकास मन्त्रालयले छुट्याएको सो बजेटमा नीतिगत भ्रष्टाचारको गन्ध देखिएको छ । कृषि विकास मन्त्रालय उच्च अधिकारीहरु र फ्लोरिकल्चर एशोसिएसन नेपालका पदाधिकारीहरुको मिलेमतोमा सो रकम बजेटमा स्वीकृत गराउन सफल भएको देखिन्छ । गत बर्ष तीन करोड रोक्का गरेपछि निकासा भएको २ करोड रुपैयां कसरी खर्च गरियो भन्ने कुरामा न त कृषि विकास मन्त्रालयका पदाधिकारीहरु बताउन सक्छन् । नत फ्लोरिकल्चर एशोसिएसन नेपालका पदाधिकारीहरु नै यस विषयमा बोल्न रुचाउंछन् । त्यसबेला आर्थिक अनियमितता भएको समाचार प्रकाशन पश्चात तात्कालिन फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष लोकनाथ गैरेले पदबाट राजीनामा समेत दिएका थिए । तर मन्त्रालयका अनुगमन महाशाखा र निकासी गर्ने महाशाखाले राज्यको ढुकुटीबाट वितरण गरिएको रकम बारे चासो राखेन् ।
अहिले पनि पहिलो चौमासिक अन्तर्गत कृषि विकास मन्त्रालयले ९० लाख रुपैयां निकासा दिएर पठाएको छ । जवकी कुनै पनि काम सम्पन्न नभई सो वापतको रकम निकासी गर्न मिल्दैन । तर फ्लोरिकल्चर एशोसिएसन नेपाल पहिलो चौमासिकमा गर्ने कुनै पनि काम नगरिकनै ९० लाख भुक्तानी लिएको देखिन्छ । हरेक बर्ष एउटा संस्थालाई करोडौं रुपैयाँ निकासी गर्ने कृषि विकास मन्त्रालयले त्यसको उपलब्धी किन हेर्न सकेको छैन । आम नेपाली किसानहरुको हितका लागि काम गर्नु पर्ने कृषि विकास मन्त्रालय केवल ठूला व्यवसायीहरुलाई करोडौं रुपैयां बाड्न मात्र बसेको हो ? यदि होइन भने गत बर्षको २ करोडको फेहरिस्ता किन उपलब्ध गराउन सक्दैन ? त्यत्तिमात्र नभएर पहिलो चौमासिकमा कामै नगरी ९० लाख निकासा गर्नुलाई के भन्ने ?
कृषि विकास मन्त्रालयबाट प्राप्त पहिलो चौमासिकको ९० लाख केमा खर्च गर्नु भो भन्ने कृषि अनलाईनको प्रश्नमा फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसुजु श्रेष्ठ भन्छन् ः तीनवटा ठूला ठूला वैठक राखियो, नेदरल्याण्डबाट विज्ञ ल्याएर भ्रमण गराईयो । के कृषि विकास मन्त्रालयले उपलब्ध गराएको सो रकम यस्तै कामका लागि हो त? अझ चाख लाग्दो कुरा त के भने भने रकम निकासा गर्नका लागि उपलब्धी मूलक काम गर्न नसकेको फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक चौमासिकमा गर्नु पर्ने वैठक एकै चौमासिकमा गरेर रकम निकासा गरेको देखिन्छ ।
राज्यको ढुकुटीको रकम यसरी व्यक्तिवादी संस्थालाई काम नै नगरी वितरण गर्ने अधिकार कृषि विकास मन्त्रालयका अधिकारीहरुलाई छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कृषि विकास मन्त्रालय भित्र भएको नीतिगत भ्रष्टाचारमा संलग्न हुनेहरुलाई कार्वाही गर्न तिर पाइला चाल्ने की ? धिरेन्द्र बस्नेत

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३