शुक्रबार, चैत्र १६, २०८०

तराईको खडेरीले धान उत्पादनलाई धक्का

काठमाडौं, साउन । साउनको दोस्रो हप्ता वितिसक्दा पनि तराईका अधिकांश जिल्लामा रोपाइँ हुन सकिरहेको छैन । कृषि विकास मन्त्रालय धान मिसन कार्यक्रममा नै मख्ख परिरहेको छ । कृषि विकास मन्त्रालय मातहत गत वर्षबाट सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले झापालाई धानको सुपरजोनका रुपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । झापामा धानको सुपरजोनका रुपमा स्थापित गरेपनि मुलुकभर उत्पादन हुने धानको उत्पादकत्व बृद्धि गर्ने काममा सरकारले चासो नदेखाएको हो कि भन्ने शंका उब्जन थालेको छ । Khaderi
धान उत्पादनका लागि महत्वपूर्ण मानिएको तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र वाँके लगायतका जिल्लाहरुमा बर्षा हुन नसक्दा ती क्षेत्रहरुमा किसानहरुले धान रोप्न पाएका छैनन् ।
तराईमा वर्षा नहुँदा धान रोप्न देखिएको समस्या सम्वोधन गर्ने भन्दै नवनियुक्त कृषि विकास मन्त्री रामकृष्ण यादवको अध्यक्षमामा कृषि विकास मन्त्रालयका उच्च अधिकारी सहितको वैठक बसी समस्या समाधान गर्नका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन सोच सहितको रुपरेखा तयार गर्ने गरी निर्णय पनि गरिएको छ । भने सुख्खाग्रस्त क्षेत्रमा अनुगमन गर्ने गरी कृषि विकास मन्त्रालयका प्रसार अधिकृतको संयोजकत्वमा चार सदस्यीय अनुगमन टोली समेत खटाउने निर्णय गरेको छ । वर्षा नहुँदा किसानहरुले धान रोप्न नपाईरहेको अवस्थामा सिँचाई सुविधा तत्काल कसरी दिन सकिन्छ भन्ने विषयमा सिँचाई मन्त्रालयसँग छलफल चलाउनुको साटो प्रतिवेदन पेश गर्नका लागि अनुगमन टोली खटाएर छलफल चलाउँने कामले धान रोप्ने काम तत्काल हुन सक्ने अवस्था देखिंदैन ।
कृषि विकास मन्त्रालयले यतिखेर वर्षा नहुँदा धान रोप्न नसकिएका जिल्लामा सिँचाईको वैकल्पिक उपायहरु तत्काल अवलम्वन गर्नु आवश्यक छ । कृषि विकास मन्त्रालय र सिँचाई मन्त्रालय दुवैमा कांग्रेस निकट मन्त्री भएका कारण पनि वैकल्पिक उपायका लागि तत्काल काम गर्न सकिने भएकाले पनि प्रतिवेदन तयार गर्नका लागि अनुगमनमा खटाउने कामलाई प्राथमिकता दिनु भन्दा सिंचाईका लागि वैकल्पिक उपाय खोज्ने काममा मन्त्रालयले प्राथमिकता दिन सकेको देखिएन ।
कृषि विकास मन्त्रालयले धानको उत्पादकत्व बृद्धि गर्न चालेका अधिकांश योजना यस्तै ससाना समस्याले धक्का लाग्ने अवस्था पनि देखिएको छ । धान उत्पादकत्व बृद्धि गर्ने हो भने सवैभन्दा पहिले धान खेती हुने क्षेत्रमा सिंचाई सुविधानको व्यवस्था गर्नका लागि पहल गर्ने कि ?

प्रकाशित मिति: सोमवार, साउन १६, २०७४