शुक्रबार, चैत्र १६, २०८०

तमानमा एक घर एक ‘टनेल’ अभियान

बागलुङ, २७ चैत । तमान गाविसलाई जैविक गाउँ घोषणा गर्ने तयारीअनुसार एक घर एक टनेल अभियान चलाइएको छ । दातृ संस्था युएनडिपी, जिइएफ र एसजिपीको आर्थिक सहयोगमा वडा नं ३, ४, ५, ८ र ९ मा उक्त कार्यक्रम सुरु भएको हो । तत्कालका लागि ४० घरमा पूर्ण प्लास्टिक घर (टनेल) निर्माणको काम भइरहेको कार्यक्रमको सामाजिक परिचालन तथा सहजीकरण गरिरहेको संस्था स्वयम्शक्ति बागलुङका अध्यक्ष बैकुण्ठ सापकोटाले बताउनुभयो । पूर्ण प्लास्टिक घर निर्माणका लागि दातृ संस्थाको ५० प्रतिशत र स्थानीय किसानको ५० प्रतिशत लगानी हुने जनाइएको छ । पूर्ण प्लास्टिक घरमा गोलभेँडा, साग, काउली, घिरौँलालगायत तरकारी लगाइने छ । व्यावसायिक रूपमा तरकारीखेतीतिर आकर्षित बनेका स्थानीय किसानलाई सो अभियानले उत्साहित बनाइरहेको छ । “यो कार्यक्रमले हामीलाई साहस मिलेको छ, आर्थिक रूपमा पनि हामीलाई ठूलो सहयोग हुन पुग्यो,” स्थानीय किसान भविलाल रोकाले भन्नुभयो ।

प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०