बुधबार, बैशाख १२, २०८१

ट्राउटको माग बढ्यो

कास्की, फागुन । कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिए ।
यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको न्यौपानेले बताए ।
सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताए । उनले करिब रु दुई करोडको ट्राउट माछा बिक्री गर्दैआएका छन् । उनका अनुसार हालसम्म रु चार करोड लगानी भइसकेको छ, तर कृषि विकास मन्त्रालयबाट प्राप्त अनुदानका बारेमा उनले खुलाएका छैनन् । अघिल्ला वर्षमा सिन्धुपाल्चोक र नुवाकोटबाट भुरा ल्याउने गरेकामा यस वर्षदेखि प्रालिले भुरा उत्पादन सुरु गरेको छ । यस वर्ष साढे चार लाख भुरा उत्पादन गरेको र करिब एक लाख भुरा बिक्री गरेको समेत गौचनले बताए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १०, २०७३