शुक्रबार, बैशाख ७, २०८१

विद्यार्थीले काँसघारीलाई बनाए प्रांगारिक काउलीबारी

झापा, ७ पुस । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अग्र्यानिक कृषि फार्म शुरु गरेका छन् । युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रूपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।
“हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्”, फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने, “सबैको साथ पाए नमूना कृषि फार्मका रूपमा मुलुकभर चिनाउने योजना छ ।” आचार्यसँगै रामहरि नेपाल, तेजबहादुर आचार्य, धननारायण श्रेष्ठ, इन्दिरा कार्की, राजेन्द्र कडरिया, चिरञ्जीवी भट्टराईलगायत समूहले रु २२ लाखको लागतमा यसैवर्षदेखि फार्म शुरु गरेको हो ।
अनुत्पादक कासघारीका रूपमा रहेको बाँझो जमिन भाडामा लिएर उनीहरूले तरकारी उत्पादन गरेका हुन् । उत्पादन भएको काउली र रायो फार्मबाटै बिक्री भइरहेको सञ्चालक चिरञ्जीवी भट्टराई बताए । फार्ममा लसुन, आलु, खुर्सानीलगायत तरकारी हुर्किरहेको छ । छिट्टै हाइटेक टनेल निर्माण गरेर बाह्रमासे सब्जी र नर्सरी उत्पादनको तयारी भइरहेको उनले बताए ।
फार्ममा झापा, सोलुखुम्बु र ताप्लेजुङका गरी १६ जना जेटिएका विद्यार्थी अध्ययनरत छन् । उनीहरूले फार्ममै अध्ययन तथा बालीको रेखदेख र स्याहार गर्दैआएको सञ्चालक रामहरि नेपालले बताए । उनी भन्छन्, “बजारको समस्या छैन ।”

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४