बिहिबार, बैशाख १३, २०८१

जाजरकोटमा नौ करोडको सुन्तला

जाजरकोट, २० पुस । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिएका छन् । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका कारण उत्पादनमा वृद्धि भएको हो । जिल्लाको ३६० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ । एक सय ८० हेक्टरमा रु नौ करोड १२ लाखको एक हजार ८२४ मेट्रिक टन सुन्तला उत्पादन भएको घिमिरेले बताए ।
सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका छन् । सुन्तलाखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । कृषकले वार्षिकरुपमा रु एक लाखदेखि रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् । सुन्तलाखेतीको पकेट क्षेत्र दम्दाला गाउँमा मात्र एक करोडको सुन्तला उत्पादन भएको छ ।
परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर लगाउने खेतबारीमा कृषकले सुन्तलाखेती गर्न थालेका छन् । कृषकले बोटबाटै सुन्तला प्रतिकिलो रु ५० मा बिक्री गर्दैआएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७३