बुधबार, बैशाख १२, २०८१

जडीबुटीयुक्त दानाले कुखुराको तौल वृद्धि

पर्सा ७, माघ । स्वदेशमै उत्पादित जडीबुटी ‘लेमन ग्रास तेल’ मिसिएको दाना खुवाए कुखुराको तौल छिट्टै बढाउन सकिने तथ्य पत्ता लागेको छ । पशु आहार महाशाखाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा गरेको ६ साता लामो अनुसन्धानले यस्तो परिणाम देखाएको हो । महाशाखाका वरिष्ठ वैज्ञानिक डा। मेघराज तिवारी नेतृत्वको टोलीले ‘कब ५ सय’ जातको ब्रोइलर कुखुरामा अनुसन्धान गरेको हो । chickenनेपालमा कुखुरापालक किसानले हाल सबैभन्दा बढी पाल्ने यो जातको कुखुरालाई अनुसन्धानको क्रममा दानामा लेमन ग्रास तेल मिसाइएको थियो । सामान्य दानाभन्दा यो खाएका कुखुराको ४२ औं दिनसम्ममा अत्यधिक बढी तौल भएको उनले बताए । ‘सामान्य अवस्थामा ४२ दिनसम्ममा ब्रोइलर कुखुराको तौल २ देखि अढाइ किलोसम्म हुन्छ,’ डा तिवारीले भने, ‘तर, लेमन ग्रास तेल मिसिएको दाना खाएका कुखुराको तौल अढाइदेखि ३ किलो ९ सय ग्रामसम्म पुग्ने गरेको अनुसन्धानबाट देखियो ।’ अनुसन्धानमा १ सय किलो दानामा २ सय मिलिलिटर, ४ सय र ६ सय गरी ३ खाले दाना बनाएर कुखुरालाई खुवाइएको थियो । त्यसमध्ये सबैभन्दा बढी ६ सय मिलिलिटर लेमनग्रास तेल मिसिएको दाना खाएका कुखुराको तौल बढी भएको पाइएको छ ।
किसानले यसरी पाल्ने कुखुरालाई १ महिनामै २ देखि अढाइ किलोसम्म वजन हुने भएकाले किसानको पालन लागत हालको भन्दा ३० प्रतिशतले कम हुने उनले बताए । यस्तो दाना खाएका कुखुरामा बोसोको मात्रा कम, खँदिलो र रेसादार मासु बढी भएको पाइएको छ । ‘यी कुखुराको मासु चाख्ने जो कोहीले पनि सामान्य ब्रोइलर कुखुराभन्दा मिठो स्वाद रहेको प्रतिक्रिया दिएका छन्,’ उनले भने, ‘अब यो प्रविधि किसानलाई हस्तान्तरण गर्ने तयारीमा हामी लागेका छौं ।’
अनुसन्धान टोलीका सदस्य एवं क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कुखुरा अनुसन्धान एकाइका प्रमुख डा अजित झाले लेमन ग्रास स्वदेशमै उत्पादन हुने र किसानले यसलाई सहजै खरिद गर्न सक्ने बताए । यो तेल जडीबुटी प्रशोधन केन्द्रले उत्पादन गर्छ । प्रतिलिटर ४ हजार रुपैयाँ पर्ने यो तेल किसानलाई केही महँगो पर्न गए पनि यो विधिबाट कुखुरा पाल्दा अन्य एन्टिबायोटिक र औषधिहरू कुखुरालाई दिनु नपर्ने भएकाले लागत सस्तो पर्न जान्छ । ‘हामी थप अनुसन्धान गरी दानामा लेमन ग्रास तेलको मात्रा घटाउने प्रयासमा लागेका छौं,’ उनले भने, ‘एन्टिबायोटिक तथा अन्य औषधि नखाएको तथा स्वस्थ्य दाना खाएका कुखुराको मासु सेवन गर्ने उपभोक्ताले स्वस्थ्य र अग्र्यानिक स्वाद पाउने हाम्रो ठहर हो ।’ शंकर आचार्य, कान्तिपुर

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३