शुक्रबार, बैशाख ७, २०८१

जग्गा बाँझो हुन नदिन केराखेती

लमजुङ, भाद्र । लमजुङको सुन्दरबजार नगरपालिका–१ कुन्छाका सुनील सुनारले जग्गा बाँझो हुनबाट जोगाउन केराखेती गरेका छन् ।
३५ वर्षीय सुनारले धानखेती गर्दै आएको र केही बाँझो जग्गाको सदुपयोग गरी कुँडुले खेतमा केराखेती गरेका हुन्। सुरुमा १० रोपनी जग्गामा केराका बिरुवा रोप्नुभएका उनले हालसम्म एक हजार पाँच सय वटा बिरुवा रोपिसकेकोे बताए । उनले गएको जेठबाट केराखेती थालेका हुन् । अहिले सुुरुवात मात्र गरेको छु । विस्तारै जग्गा व्यवस्थापनसँंगै केराखेती विस्तार गर्ने सोच छ, उनले भने । धानखेती गरिँदै आए पनि खेताला नपाउने र उत्पादन घट्दै गएपछि सोही खेतमा केरा लगाउन थालेको उनले बताए । धानखेती गरेको थिएँ ।
गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल भयो । खेत बाँझो पो हुने हो कि भन्ने चिन्ता लाग्यो । खेत बाँझो राख्नुभन्दा केराखेती गर्दा ठीक हुन्छजस्तो लाग्यो । अनि केराका बिरुवा रोप्न सुरु गरेँ, उनले भने । धानखेती गर्दाको जस्तो श्रम र कामदारका लागि ज्यालाको बढी खर्च नहुने र कम मिहिनेतमा खेती गर्न सकिने भएकाले केराखेती थालेको उनले बताए । आगामी वर्ष थप १० रोपनी जग्गामा खेती विस्तार गर्ने सुनारले बताए । युवामा विदेश पलायनको समस्या बढ्दै गएको र खेतीयोग्य जमिन बाँझो हुन थालेपछि आफैँबाट खेत बाँझो राख्नुभन्दा केराखेती गरेको उनले बताए । हामीमा सबैजसो फलफूल तथा तरकारीजन्य वस्तु भारतबाट आयात हुन्छ । त्यही तरकारी, फलफूल आफ्नै माटोमा उत्पादन गर्न सकिए यसले कृषिमा आत्मनिर्भर बढाउँछ । युवा विदेश जानु पर्दैन । समृद्धि हामी आफैँले ल्याउने हो, उनले भने । सुनारले केराखेतीसँंगै चार रोपनी जग्गामा कागतीखेती समेत गरेका छन् । सुरुमा दुई सय बिरुवा लगाइएको र थप्दै जाने उनले बताए । – बेलिना थापा  

प्रकाशित मिति: बिहिबार, भदौ १४, २०७५