बिहिबार, बैशाख १३, २०८१

छविलालको छहारीमा बाख्रापालनमा रमाउँदै शुक्रनगरका युवा

bakhar palan

चितवन । चितवनको पुल्चोकबाट करीव २६ किलोमिटर दक्षिणतर्फ शुक्रनगरको नमूना चोक अनि, नमूना चोकबाट करीव ५० मिटरको छेउमा अवस्थित नमूना मध्यवर्ति बाख्रा फार्मले रोजगारीका लागि विदेश भौतारिने धेरै युवाहरुलाई गिज्याईरहेका जस्तो देखिन्छ । तर, त्यही बाख्रा फार्मभित्र १६ महिना सिंगापुर बसेर फर्केका दुर्गा न्यौपाने, ल्याव चलाएर बसेका नारायण न्यौपाने, औषधी पसल चटक्कै छोडेर आएका बलराम न्यौपाने, पशु प्राविधिक हिमलाल भारती, चन्द्रकला न्यौपाने र जगदीश न्यौपानेको सामूहिक कार्यले विदेशमा होइन स्वदेशमा नै रमाई रमाई आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन् ।
विभिन्न ठाउँमा विभिन्न पेशा र व्यवसाय गर्ने यी युवाहरुलाई एउटै छहारीमा बाख्रापालनमा रमाउन सिकाउने ५५ बर्षिय छविलाल सापकोटाले सो ठाउँलाई बाख्रा पालन गरी वास्तवमा नै नमूना गाउँ बनाउने अभियानमा जुटाएका रहेछन् । नमूना चोकमा छविलालको छविमा फुरुङ्ग हुनेहरु पनि प्रशस्त भेटिएका छन् । उनकै संयोजनमा ३५० भन्दा बढी बाख्रा सहित नमूना बाख्रा फार्मले फरक किसिमले बाख्रा पालन त शुरुवात ग¥यो । तर, पहिलो गाँसमा नै ढुङ्गा भनेजस्तै गरी जग्गा सहितको १ करोड ३ लाख लगानीको बाख्रा फार्ममा तुषारापात हुने संकेत देखियो ।
जमुनापारी र बोर जातको बाख्राहरु एक्कासी विरामी पर्न थाले पशु चिकित्सकले पिपिआरको संकेत देखाए त्यही कारणकेही बाख्रा मरे । तर जिउँदा बाख्रालाई कसरी बचाउने भन्ने तर्फ ५५ बर्षिय छविलाल मात्र होइन सातै जना सहकर्मी युवाहरु रातभर सुतेनन् । कोही बाख्रालाई सलाइन चढाउने, कोही औषधी ख्वाउने र सुँईलगाउन मै व्यक्त भए । हरेकले आफ्नै घरको सानो बच्चा स्याहारे जस्तै स्यहार एवं औषधी उपचार गर्दा पनि ७० भन्दा बढी बाख्रा पिपिआर कै कारण बचाउन सकेनन् । सवैका आँखामा आँशु टिलपिल हुन थाले ।
बर्षोसम्म गरेको पेशालाई छाडेर बाख्रा पालनमा रमाउन खोजेका ती युवाहरुको मुहारमा नैराश्यता पैदा हुन थाल्यो । तर धेरै दुख, संघर्ष र पीडा भोगिसकेका छविलालले सवैलाई सम्हाले नैराश्यता होइन झन् उत्साहकासाथ अगाडि बढ्ने उर्जा थपे । उनीहरुको अनुहारमा फेरि उतसह थपिँदै गयो । छविलालको प्रेरणादायी उत्साहले उत्साहित सातै युवा सदस्य बाख्रापालन यतिखेर व्यस्त देखिएका छन् । बलराम न्यौपाने भन्छन् निराशा होइन उत्साहमै काम गर्नु पर्दछ हामी उन्नत जातका बोका लगाएर उन्नत जातको बाख्राको स्रोत केन्द्रका रुपमा नमूना बाख्रा फार्मलाई परिचित गराउने अभियानमा अहोरात्र खटिएका छौ र त्यसलाई पूरा गर्दछौं ।
सिंगापुरबाट फर्केर बाख्रा पालनमा नै होमिएका दुर्गा न्यौपाने आफूहरुको मेहनत र परिश्रमलाई सम्वन्धित निकायले चासो नदिने बाख्राहरुको स्वास्थ्य उपचारका लागि महत्व नदिने देखेर कहिले काँही फेरि पुरानै व्यवसायतिरै फर्कने कि भन्ने झोंक पनि चल्ने गर्दछ भन्छन् !
सरकारले पशुपालन गर्नेहरुलाई बेला बेलामा विभिन्न खाले तालिम दिएपछि तालिम व्यवस्थित र ज्ञानमूलक हुनु भन्दा पनि केवल भत्ताका लागि तालिम लिने परिपार्टी धेरै नै रहेको अनुभव समेत व्यक्त गर्दछन् नारायण न्यौपाने । जिल्लामा यस्ता मान्छेपनि छन् जसले तालिम बाहेक अरु केही पनि गदैन । साधारण तालिमलाई पशुपालनको लागि बृहत ज्ञान दिन नसके उच्चस्तरको तालिम सशुल्क लिएर भएपनि गर्नु पर्ने थियो तर त्यो व्यवस्था नै छैन रे उनी सुनाउँछन् ।
नमूना मध्यवर्ति बाखा फार्ममा यी सदस्यहरुले आफ्नो कामको जिम्मेवारी समेत छुट्याएका छन् । जसले गर्दा फार्मलाई व्यवस्थित र नमूना बनाउन धेरै नै सहयोग गरेको छ । बाख्रा पाल्न इच्छुक धेरै किसानहरु सो फार्म आएर जाने पनि गरेका छन् । जसले व्यवस्थित बाख्रा पालनका लागि धेरै कुरा सिकेर बाख्रा पालन शुरुवात गरेका पनि छन् ।
सरकारले पशु तथा बाली बीमा त ल्यायो तर बीमा कम्पनीहरु सकेसम्म बीमा गर्न नै चाहँदैनन् । त्यसमाथि पनि बाख्राको बीमा गर्न त मान्दै मान्दैनन् छविलाल सापकोटा गुनासो छ बीमा कम्पनीहरु प्रति । सरकारले व्यवसायिक रुपमा पशुपालन गर्ने तथा कृषिमा लाग्नेहरुलाई अनुदान दिन्छ भन्छन् तर काम गर्नेहरुसम्म नपुगेको हो कि भन्ने शंका पनि व्यक्त गर्दछन् । आफूहरुले सवा करोड लगानी गरिसकेको बताउँदै सरकारले औषधी उपचारका लागि सहज व्यवस्था गरिदिने हो र केही राहत स्वरुप अनुदानको व्यवस्था गरिदिने हो भने नमूना फार्म साँच्चै नमूनाका रुपमा देखाउने सामूहिक प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सायद सरकारले दिने अनुदान यस्तै व्यवसायिक रुपमा काम गर्नेहरुका लागि नै होला ? – विपी भण्डारी

प्रकाशित मिति: आइतवार, कार्तिक २३, २०७१