शनिबार, बैशाख ८, २०८१

च्याउले जिल्लाको बजार धानेन

चितवन, ७ पुस । पछिल्लो समयमा शाहाकारी भोजन गर्ने व्यक्तिहरुका लागि मात्र नभएर मांशाहारी व्यक्तिहरुले पनि च्याउप्रति मोह जगाउन थालेपछि च्याउको माग बढ्न थालेको छ । चितवन जिल्लामा पनि च्याउका माग अत्यधिक बढेपछि जिल्लामा उत्पादित च्याउले जिल्लाकै बजार धान्न सकेको छैन । जिल्लामा पछिल्लो समयमा होटल व्यवसाय फस्टाउँदै गएको र मानिसमा च्याउप्रति आकर्षण बढेकाले मागअनुसार उत्पादन नहुँदा अन्य जिल्लाबाट च्याउ आयात गर्नुपरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

chauअहिले जिल्लामा समूहमा खेती लगाउनेलाई विभिन्न सहयोग दिएर च्याउको उत्पादन बढाउने प्रयास थालेको कृषि कार्यालयले बताएको छ ।
अहिले व्यावसायिक रूपमा च्याउखेती गर्ने कृषक ३० जना चितवन जिल्लामा रहेका छन् भने फाट्टफुट्ट खेती गरेर च्याउ बिक्री गर्ने व्यवसायी १५० भन्दा बढी रहेको कृषि विकास कार्यालयको तथ्याँक छ ।
विशेषगरी असोजदेखि फागुनसम्म चितवन जिल्लामाच्याउ हुन्छ तर व्यवसाय गर्नेले बाह्रै महिना च्याउखेती गर्न सक्छन् । २२ देखि ३० डिग्री तापक्रममा च्याउखेती हुने कृषि विज्ञले बताएका छन् । चितवनको पदमपुरलाई च्याउको पकेट क्षेत्र मानिँदै आएको छ ।
अहिले भरतपुर, शारदानगर, कुमरोज, बछौली, माडीलगायतका क्षेत्रमा च्याउखेती हुन्छ । यो वर्ष १५ प्रतिशतले च्याउखेती बढे पनि माग धान्न सक्ने अवस्था देखिएको छैन । चितवनमा च्याउ प्रतिकिलो रु २०० देखि रु २६० सम्ममा बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति: आइतवार, पुस ७, २०७०