शुक्रबार, बैशाख ७, २०८१

चौँरीको चरन क्षेत्रको अभावमा चौँरीको सङ्ख्या घट्न थाल्यो

मङ्गलवारे (इलाम), १० पुस । इलामको उत्तरी लेकाली क्षेत्रमा पालिँदै आएको चौँरीको सङ्ख्या घट्दै जान थालेको छ । चौँरीको स्याहार नगर्दा सङ्ख्या घट्दै गएको हो । जिल्ला पशुसेवा कार्यालयका अनुसार मावु र माईमझुवामा १९४ वटा चौँरी छन् । पहिला–पहिला अधिकांश रूपमा लेकाली क्षेत्रका बासिन्दाले चौँरीगाई पाल्दै आएका थिए । चौँरीको चरन क्षेत्र पनि घट्दै गएकाले चौँरीको सङ्ख्या घटेको हो । चौँरी माईमझुवा गाविसको तीनवटा वडा र मावु गाविसको एउटा वडामा मात्र रहेको कार्यालयले जनाएको छ । मावु गाविसमा अहिले तीन घरमा ४९ र माईमझुवाका सातवटा घरमा १४५ वटा चौँरी पालिँदै आएको छ । चौँरीपालक किसान दूध र दुग्धजन्य पदार्थ घिउ, छुर्पी उत्पादन गरी बिक्री गर्छन् । चौँरीको पुच्छरको चम्बर महँगो मूल्यमा बिक्री हुन्छ । उत्पादित दुग्धजन्य पदार्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । मावु र माईमझुवा गाविसमा ११७ वयस्क, एकदेखि तीन वर्र्षसम्मका २६, छ महिनादेखि एक वर्षसम्मका १८ र छ महिनाभन्दा कमका ३३ वटा चौँरी रहेका थिए । जनसङ्ख्या वृद्धिका कारण चौँरीको चरन क्षेत्र मासिँदै जान थालेपछि चौँरीको सङ्ख्यामा पनि कमी आएको हुन सक्ने माईमझुवाका तुलाराम गुरुङले बताउनुभयो । लेकाली क्षेत्रमा भएकाले यस क्षेत्रका १५ जना किसानले व्यावसायिक रूपमा चौँरी पाल्दै आएका छन् । स्थानीय गाईको तुलनामा चौँरीको दूधबाट बनेका परिकार पोषिलो र स्वादिष्ट हुने भएकाले यहाँका किसानले चौंरीको उत्पादन नेपालदेखि भारतका विभिन्न बजारसम्म पु¥याउने गरेको माईमझुवाका चौंरीपालक लालबहादुर राईले बताउनुभयो । चौँरीबाट उत्पादित घिउ प्रतिकिलो तीनदेखि पाँचसय रूपैयाँ, छुर्पी पाँचदेखि आठसय रूपैयाँसम्ममा बिक्री गर्दै आएको राईले बताउनुभयो । चौँरीको पुच्छरबाट बनाइएको चम्बर आठदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०७०