शुक्रबार, चैत्र १६, २०८०

चुनावका कारण अण्डा र मासुको विक्री बढ्यो

चितवन, ८ मंसिर । आसन्न निर्वाचनका कारण कुखुराको मासु र अण्डाको माग बढेसँगै मासु र अण्डाको मूल्य वृद्धि भएको छ । चुनाव प्रचारका क्रममा दलहरूले आफ्ना कार्यकर्तादेखि सामान्य मतदातासम्मलाई खाना, खाजा खुवाउँदा कुखुराको मासु र अण्डाको प्रयोग बढाएपछि यसको उपभोग समेत बढेको छ । जसले बजारमा कुखुराको मासु र अण्डाको माग बढेर मूल्य वृद्धि गराएको हो । egges
“औषत २६० रुपियाँ प्रतिकेजी कारोबार हुने कुखुराको मासु अहिले किसान तहमै प्रतिकेजी ३२० रुपियाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको छ”, नेपाल पोल्ट्रि व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले बताए । “अण्डा पनि पहिला पहिला प्रतिक्रेट २९० रुपियाँमा पनि बिक्री हुन गारो हुन्थ्यो अहिले ३१० रुपियाँ तिर्छु भन्दा पनि किसानबाट व्यवसायीले अण्डा पाउन सकिरहेका छैनन् । ” कार्यकारी अधिकृत बराल चुनावकै कारण अण्डा र मासुको खपत बढेकाले यसको मूल्यसमेत बढेको बताउँछन ।
व्यवसायीहरूका अनुसार सामान्य अवस्थाभन्दा अहिले कुखुराको मासु र अण्डामा २० प्रतिशत खपत बढेको छ । मञ्चका अध्यक्ष शंकर कँडेल सामान्य अवस्थामा नेपालमा दैनिक सात लाख केजी कुखुराको मासु र २४ लाख अण्डा खपत हुने बताए । यो सङ्ख्या चितवनको हकमा ५० हजार केजी मासु र १० लाख गोटा अण्डा खपत हुने गरेको बताइन्छ ।
“चुनावका कारण खपत बढ्दा कुखुराको मासु र अण्डामा मूल्य बढ्न गयो”, अध्यक्ष कँडेलले भने, “यही अनुपातमा खपत बढेर जाने हो भने नेपालमा उत्पादन भएको मासु र अण्डाले बजार माग थेग्न गारो पर्न सक्छ । ”
कुखुराको मासु र अण्डा उत्पादनमा नेपाललाई आत्मनिर्भर मानिन्छ तर कहिलेकाहीँ निर्वाचन तथा चाडबाडका बेला यसको माग ह्वात्तै बढेर जाने गर्छ । नेपालमा खपत हुने मासुमध्ये ७५ प्रतिशत बजार काठमाडौँको हो ।
“कुखुरामा नेपाल आत्मनिर्भर छ”, उनन, “अहिले दैनिक खपत हुने कुखुराको मासु नेपालभित्रै उत्पादन हुनसक्ने अवस्था छ । ” नेपालमा अहिले एक हजार ४७३ फर्ममा २५ लाख लेयर्स कुखुरा छन् । जसमध्ये चितवनमा ५०० फर्ममा १६ लाख कुखुरा पर्छन् । जसले अण्डा उत्पादन गरिरहेको छ ।-गोप

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४