बिहिबार, चैत्र १५, २०८०

रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

बेइजिङ । चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको हो ।
उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ कृषि मन्त्रालयलाई उद्धृत गरी उल्लेख गरेको छ । चीनले अफ्रिकन स्वाइन फेभरको पहिलो बिरामी यही बर्षको अगस्टमा उत्तरपूर्वी लायोनिङ प्रान्तमा भेटिएको जनाएको छ । रोग लायोनिङबाट दक्षिणी क्षेत्रमा करिब एक हजार किलोमिटर टाढा भेटिएको थियो । यसबाट चीनका सबै सुँगुर फार्मलाई रोगबारे चनाखो बनाइएको थियो ।
रोगको सङ्क्रमण फैलिइरहेको भएपनि कृषि मन्त्रालयका प्रवक्ताले हाल ‘रोग सामान्यतया नियन्त्रणमा’ रहेको बताउनुभएको सिन्ह्वाले जनाएको छ ।
गत हप्ता संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले उक्त रोग एशियाका अन्य भागमासमेत फैलिनसक्ने चेतावनी दिएको थियो । अफ्रिकन स्वाइन फेभर मानव जीवनका लागि खतरा नभएपनि घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने बताइएको छ ।
रोग नियन्त्रणका लागि खोप वा अन्य कुनै बिषनासक औषधी नभएकोले सङ्क्रमण देखिएका पशुलाई मार्नु नै रोग फैलिनबाट रोक्ने उपाय भएको जनाइएको छ ।
बेइजिङले रोग फैलिनबाट रोक्न आकस्मिक योजना ल्याइएको जनाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले गत मे मा एउटा सूचना जारी गरी रूसबाट उक्त रोग फैलिने खतरा रहेको भन्दै आवश्यक सावधानी अपनाउन चेतावनी दिएको थियो ।
सुँगरको विश्वभरको उत्पादनको आधा उत्पादन चीनमा हुने यसको ठूलो मात्रामा खपत पनि चीनमा नै हुने संगठनले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १७, २०७५