शनिबार, बैशाख ८, २०८१

इलाममा चिया मजदुर पलायन हुदै

tea

इलाम, ९ भाद्र। महँगीअनुसार ज्याला नपाएपछि इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदुर धमाधम पलायन हुन थालेका छन् । दिनभर चिया टिपे पनि त्यसबाट मजदुरको जीवन धान्न गाह्रो परकोले बगानमा काम गर्ने मजदुर पलायन हुने क्रम बढेको हो । इलाम र झापाका चिया बगानमा काम गर्ने मजदुरलाई कारखानाले फरक–फरक ज्याला दिइरहेका छन् । चिया व्यवस्थापन पक्षले समयसापेक्ष ज्याला नदिँदा चिया बगानबाट विस्थापित बन्नु परेको यहाँ कार्यरत मजदुर बताउँछन् ।

मजदुर पलायनले अहिले दैनिक कामकाजमा समस्या पर्न थालेको बगान व्यवस्थापन पक्षले जनाएको छ । नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका सातवटा चिया बगानमा आधाभन्दा धेरै मजदुरले ज्यालाको कारण देखाउँदै काम छाडेको बगानको विर्तामोडस्थित सम्पर्क कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार इलामको चिसापानीस्थित सोक्तिममा रु १८५, दानाबारीस्थित चिलिमकोटमा रु १९०, कन्याममा रु १९६ र इलाममा रु १७० मात्र ज्याला छ । यस्तै झापाका टोकला, बाह्रदशी र बर्नेमा रु २०१ ज्याला दिने गरिएको छ । कम ज्याला भएपछि कन्याम चिया कारखानामा ४७३ स्थायी मजदुर कार्यरत रहे तापनि अहिले १३४ जना मात्र कार्यरत छन् । आफूहरुले पाउने पारिश्रमिक न्यून भएकाले बढ्दो महँगीस“ग जुध्न नसकेको मजदुरको भनाइ छ ।
बगान सञ्चालक पक्षले भने बर्सेनि कारखाना घाटामा गएको जनाउँदै आम्दानीअनुसार मात्र पारिश्रमिक दिन सकिने बताउँदै ज्यालामा धेरै वृद्धि गर्न नसकिने जनाएको छ । रातदिन चिया बगानमा काम गरे पनि चिया बगानबाट भएको कमाइले गुजारा चलाउनै मुस्किल परेको मजदुर बताउँछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७२