बिहिबार, बैशाख १३, २०८१

चितवनमा एक अर्बको केरा बिक्री

चितवन, चैत । पछिल्लो समयमा चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।
“राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो ।
“गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले बताए । आम्दानीमात्रै रु २५ करोड भएको उनको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गरेका थिए । उनले वार्षिक रु दुई करोडको कारोबार गर्दैआएका छन् ।
रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७३