शनिबार, बैशाख ८, २०८१

चितवनका कुखुरामा बर्डफ्लु भएको पुष्टि

चितवन, जेठ । लामो समयसम्म नदेखिएको बर्डफ्लु फेरि देखा परेको छ । चितवनमा रहेको खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो ।
चितवनमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताएका छन् ।
राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो । परीक्षणमा एच फाइव एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईंले बताए ।
सोपश्चात् केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमूना पठाइएको थियो । केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो ।
यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरूपमा नष्ट गरिएको छ ।
यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५