शुक्रबार, बैशाख ७, २०८१

चर्कियो तरकारीको मूल्य

यतिखेर काठमाडौंको बजारमा कुनै पनि तरकारी छोइसक्नु छैन । विभिन्न खालका तरकारी महँगीएर आकाश छोएको छ । कुखुराको मासुको भाउ आलुमा राख्नुपर्ने भएको छ । चामलको भाउमा काउली पाइँदैन । ५० रुपियाँको साग खरिद गर्दा दुई जनाको परिवारलाई ठिक्क मात्र हुन्छ । प्याजको त कुरै नगरे हुन्छ । गोलभेँडादेखि खुर्सानीसम्म र चम्सुर पालुङोदेखि मुला–भन्टासम्मको भाउ जति मन लाग्यो उति छ । पसलैपिच्छे भाउ फरक छ । जुन पसलेलाई जति मन लाग्यो उति लिए हुने भो । तरकारी बोल्दैन, ग्राहकले मोलमोलाई गर्न पाउनु छैन । सरकार त निकम्मा नै भइसक्यो । यसै त मुलुक चलाउने हविगत नभएको सरकारले संविधान सभाको चुनाव सम्पन्न गर्नुपर्ने भएपछि तोरिको फुल देख्ने भइगयो । सरकारको ध्यान चुनाव र मतपरिणाम बाहेक कतै छैन ।

तरकारी महँगो नेपालका लागि नौलो कुरा होइन । हिजो अस्ति, गएको महिना, साल, पोहोर–परार जहिले पनि बढेकै हो । नेपाली जनताले सास्ती बेहोरेकै हुन् । त्यसमा आश्चर्य मान्नु पर्ने कारण केही पनि छैन । तर यसपालिको तरकारीमा देखिएको महँगी सुन्दा नै आश्चर्य लाग्दो छ । दालभातको पैसो एक छाक तरकारीमा खर्च गर्दा पनि नपुग्ने भइसक्यो । गएको साल यतिखेतर ३० रुपियाँ किलोमा पाइने काउलीको भाउ सय रुपियाँ, पचासमा पाइने आलु धार्नीको १ सय ५०, गोलभेँडा २५ भन्दा बढी थिएन अहिले सय नाघिसक्यो । कसैलाई थाहा छैन किन बढ्यो । नेपालमा उत्पादन भइराखेकै छ, बाहिर बाट आयात गर्न थालेको आजमात्र होइन । विना कारण यतिविधि भाउ चर्किनुपर्ने कुनै कारण देखिदैन ।

यसरी कुनै औचित्य नै नभइकन पहिलो चोटि नेपाली बजारमा तरकारीको भाउ अचम्मसँग महँगिएको छ । कतै कुनै नियन्त्रण छैन । व्यापारीहरु चित्तबुझ्दो कारण भन्न सक्दैनन् । कतिले चुनावलाई दोष दिन्छन् । सरकार एकोहोरिएर दैनिक प्रशासनतिर आँखा लाउन छोडिसक्यो । दलालहरुको भाग्य चम्किएको छ । किसानसँग थोरै मुल्यमा खरिद ग¥यो अनि ग्राहकलाई मनपरी असुल्यो । ग्राहकहरु उजुरी गर्न र आफ्ना गुनासा पोख्न कहाँ जाने ? भन्ने ठाउँ खै ? सुनाउने ठाउँ खै ? सरकार निरीह छ । उस्तै परे दलालहरुसँग मिलेर कमिशन लिन्छन् ।

किसानहरुले हिजोजस्तै उत्पादन गरेकै हुन् तरकारी । बाहिरबाट आयात गरेको पनि आज मात्र होइन, हिजो पनि हो । यतिसारो महँगिनुपर्ने कारण केही थिएन । खाद्यान्न महँगो एकातिर छँदै छ , लत्ता कपडा जाडो आएको छ, जति भने हाल्नै पर्ने भो । त्यत्तिले नपुगेर दैनिक खानु पर्ने तरकारी यसरी महँगिएपछि जनता भन्न कहाँ जाने ? सरकारको यो उदासिनता जनताले बुझ्न सकेका छैनन् । तरकारी खरिदमा दलालहरुलाई नियन्त्रणमा लिने हो र बजार अनुगमन गर्ने हो भने अहिले जुन जात्रा तरकारी बजारमा बढेर गएको छ त्यसमा केही राहत जनताले पाउने थिए । तर सरकार बोल्दा पनि बोल्दैन र आँखाले देख्दा पनि देख्दैन । यति बेला सरकार अन्धो र बहिरो भएको छ । एकोहोरिएर चुनावतिर मात्र केन्द्रित भएको छ । त्यसो भए दैनिक प्रशासन खै त ? के सरकारले जनताका दैनिक आवश्यकता र सवालका कुरामा ध्यान पु¥याउनु पर्दैन ? यी र यस्ता जल्दा बल्दा प्रश्नहरु अहिले सरकारसँग जनताले गरिरहेका छन् । यसरी नै सरकार अरु केही दिन चुप लागेर बस्ने हो भने जनता महँगो तरकारी विरुद्ध सडकमा उत्रिने छन् । यतातिर सरकारको ध्यान पुग्नु जरुरी छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ११, २०७०