शनिबार, बैशाख ८, २०८१

गोबरग्यासले महिलाको दैनिकी फेरियो

krishilogoबैतडी, १७ जेठ । गोबरग्यासको प्रयोगपछि ग्रामीण क्षेत्रका अधिकांश महिलाको दैनिकी फेरिँदै गएको छ । जिल्लाको न्वाली गाविस–८ जिमकोटकी मानमती भाट झिसमिसेमै छोराछोरीलाई विद्यालय पठाएर दाउरा खोज्न जानन्थ्ये। तर मानमतीले घरमा गोबरग्यास जोडेपछि उनको दिनचर्या सहज बनेको छ । गाउँ नजिक वन नहुँदा यहाँका महिलाको आधा दिन जङ्गलमै बित्थ्यो । घरमा गोबरग्यास जडान गरेपछि स्थानीय महिलाको समय बचत भएको छ ।
“घाँस दाउरा जुटाउँदा आधा दिन बिताउँथ्यौँ,” उनले भनिन– “अहिले दैनिक तीन/चार घन्टा फुर्सद पाइन्छ ।” करिब ३४ परिवारको बसोबास रहेको उक्त गाउँका ११ घरपरिवारले यस वर्ष गोबरग्यास जोडेका छन् । गाउँमा ३ कक्षासम्मको मात्र विद्यालय छ । कक्षा ४ पढ्न देउलेकको चडेपानीस्थित भूमिराज मावि जानु पर्छ । त्यहाँ पुग्न करि चार घन्टा समय लाग्छ । छोराछोरीलाई विद्यालय पठाउन समय बढी लाग्ने भएकाले महिलालाई अन्य घरायसी काम गर्न समय अभाव हुने गरेको छ । गाउँका आधा बढी पुरुष रोजगारीका लागि जिल्लाबाहिर गएका छन् । महिला र केटाकेटीमात्रै घरमा हुँदा कामको बोझ बढेको हो । “छोराछोरीको हेरचाह, गाईबस्तु स्याहार्न र घाँस दाउरामै रातदिन बित्थ्यो, दाउरा खोज्ने र मल बोक्ने काम घटेकाले केही सुविस्ता भएको छ,” स्थानीय गोमती भाटले भने – “बचेको समय अन्य काममा लगाउँछौँ ।”
फुर्सदै नहुने भएपछि यहाँका महिलाले आमा समूहमार्फत गोबरग्यासको माग गरेका थिए । भूमिराज दोगाडा महिला समूहमा आबद्धमध्ये ११ जना सदस्यले ग्यास उत्पादन गरिरहेका छन् । सो समूहले महिलाको कार्यबोझ घटाउने र खाद्य सुरक्षा तथा पोषणको अवस्थामा सुधार कार्यक्रमअन्तर्गत रु तीन लाख सहयोग पाएको स्थानीयवासी पदमसिंह भाटले बताए । पाइपलगायतका उपकरण र सामग्री निःशुल्क पाएका छन् । सिमेन्ट, बालुवा, गिट्टी कामदार खर्च अनुदान रकमबाट बेहोरेका छन् । प्लान्टमा कम्पनीले २५ वर्षको वारेन्टी दिएपछि उनीहरु ढुक्क छन् । “प्रतिघर रु ५०/६० हजार थप खर्च भए पनि काममा सजिलो भएकाले ढुक्क छौँँ”, आमा समूहकी अध्यक्ष वसन्ती भाटले भने– “धुवाँमुक्त भएर स्वास्थ्यमा सुधार हुने र घर सफा हुने भयो ।” अन्य परिवार पनि प्लान्ट राख्न इच्छुक भए पनि जग्गा, स्थानीय सामग्री र व्यक्तिगत लगानी जुटाउन नसकेकाले अहिले बनाउन नसकेको बताइएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १७, २०७३