शुक्रबार, चैत्र १६, २०८०

गाईपालनबाट लाखौं आम्दानी

पाल्पा, ११ माघ । माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।
एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेका छन् । गाईपालनबाट उनीहरूको लाखौँ आम्दानी गर्दैआएका छन् ।
दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु ३० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला पशुसेवा कार्यालयले दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट उत्साहित भई कृषकले व्यावसायिक प्रणालीबाट गाईपालन व्यवसाय शुरु गरेका हुन् ।
कृषकलाई व्यावसायिक पशुपालनमा आकर्षित गराउन पशुसेवा कार्यालयले यहाँ २०६७ मा डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियान शुरु गरेको हो । सो कार्यक्रमका लागि कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत एक घरपरिवारलाई रु दुई हजार पाँच सय र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान रकम सहयोग गरेको पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए ।

प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४