शुक्रबार, चैत्र १६, २०८०

गलकोटमा मह शिकार महोत्सव

बागलुङ, चैत । पर्यटक आकर्षित गर्न यहाँ मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरिने भएको छ । गलकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र निलुवामा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिले आउँदो शनिबार सो महोत्सव गर्न लागेको हो निलुवाका मौरीभिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताए ।
परम्परागत प्रविधि अपनाएर महको शिकार गरिने उनको भनाइ छ । अनुभवी र दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिनेछन् । “अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो” अध्यक्ष सुवेदी भन्छन्, “यसले पर्यटकलाई पनि लोभ्याउँछ ।” गलकोटका पहराहरूमा भिरमौरी पाइने भए पनि पहिलोपटक यसरी मह शिकार महोत्सव गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।
महोत्सवले निलुवा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने आयोजक समितिका सदस्य ईश्वर सुवेदी बताउँछन् । “वीरलै हुने गरेको मह शिकार गलकोटमा गर्दैछौँ” उनी भन्छन् “पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।” महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघसंस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । हालसम्म रु एक लाख ८० हजार संकलन भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २२, २०७४