शुक्रबार, चैत्र १६, २०८०

खोरेत रोगको महामारी अझै रोकिएन

दार्चुला, २ चैत । दार्चुलाका विभिन्न गाविसमा तीन महिनाअघि देखि पशुचौपायामा देखिएको खोरेत रोगको सङ्क्रमण अझै कम हुन सकेको छैन । पशुचौपायाहरूमा रोगको सङ्क्रमण भइसकेपछि न्यूनीकरणमा समस्या हुने भएकाले खोरेतको महामारी कम हुन नसकेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । गत पुसमा जिल्लाका लाली, उकु, खरकडा र बोहरीगाउँ गाविसमा खोरेत रोगको महामारी फैलिएको थियो । ती गाविसमा खोरेत रोगका कारण दर्जनाँै पशुचौपाया मरेका स्थानीयवासीले बताएका छन् । सुरुमा जिल्लाका तीन÷चार गाविसमा देखिएको खोरेत रोगको महामारी पछिल्लो समय दर्जनौँ गाविसमा फैलिएको छ । खोरेत रोगको सङ्क्रमण बढ्दै गएपछि जिल्ला पशुसेवा कार्यालयले खोरेत नलागेका पशुचौपायालाई भ्याक्सिन लगाउने कार्यक्रम जारी राखेको सो कार्यालयका पशुचिकित्सक डा. मनोजकुमार शाहीले बताउनुभयो । खोरेत रोगको सङ्क्रमण कम गर्न रोग लागेका पशुचौपायालाई स्वस्थ पशुचौपायाबाट टाढै राख्नुपर्ने पशुचिकित्सकहरूको सुझाव छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, चैत्र २, २०७०