मङ्लबार, चैत्र ६, २०८०

खाद्य सुरक्षाका लागि महत्वपूर्ण बन्दै आधुनिक भकारी

काठमाडौं,२७ मंसिर । परम्परागत रुपमा कृषि उपजलाई भण्डारण गरिंदै आएको भकारी विस्तारै लोप हुँदै गएको छ । २०७२ सालमा गएको भूकम्पका कारण पहाडी क्षेत्रका घरहरुमा यस्ता भकारी लोप नै भए भन्न सकिन्छ ।
किसानहरुले उत्पादन गरेका कृषि उपजहलाई लामो समयसम्म सुरक्षित रुपमा राख्ने र आवश्यक पर्दा खाद्यान्नका लागि कुटान पिसान गर्ने चलन पहिलेदेखि नै छ । जसका कारण भकारी नभएका सायदै घर नै हुन्थे होला ।
विकसित देशहरुमा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु भण्डारणका लागि आधुनिक भण्डारण घरहरु निर्माण नभएका पनि होइनन् । ती भण्डारण घरहरुलाई आधुनिक रुपमा कृषि उपजलाई सुरक्षित गर्ने काम भएको देखिन्छ ।
बढ्दै गईरहेको खाद्य असुरक्षालाई दृष्टिगत गर्दै कृषि वैज्ञानिकहरुले कृषि सहकारी, बीउ उत्पादक तथा मध्यम किसानहरुलाई लक्षित गरी आधुनिक प्रकारका रवरका भकारीहरु (कोकुन व्याग) निर्माण गरिएको पाईन्छ । अमेरिका, जापान, कोरिया, चीन जस्ता देशहरुमा पनि आधुनिक भकारीहरुको प्रयोग प्रशस्तै भएको देखिन्छ ।
यी आधुनिक भकारीहरु (कोकुन व्याग) पोष्ट हार्भेष्टका समयमा मात्र नभई जहाँ उत्पादन स्थल छ त्यही नै लामो समयसम्म सुरक्षित राख्न सकिने किसिमको भएको बताईन्छ । खाद्य संकट भोगिरहेका मुलुकहरुले यस प्रकारका भकारीहरुको प्रयोग बढी गरेका छन् भने खाद्य सुरक्षाका लागि संयुक्त राष्ट्र संघका विभिन्न निकायहरुले पनि अविकसित देशहरुमा खाद्य सुरक्षाका लागि यता भकारीहरु सरकारले सहयोग गर्ने गरेको देखिन्छ ।
किन प्रयोग बढ्दै छ आधुनिक भकारी (कोकुन व्याग) ः
आधुनिक भकारी अर्थात कोकुन व्याग किसानहरुले उत्पादन गरेका कृषि उपजलाई लामोसमयसम्म जैविक पद्दतीबाट भण्डारण गर्नका लागि प्रयोग गर्ने गरेको देखिन्छ । यस्ता भकारीहरुमा अन्न तथा बीउ भण्डारण गर्दा रासायनिक तथा कीटनाशक विषादी प्रयोग नगरीकन नै लामो समयसम्म भण्डारण गर्न सकिन्छ । किरा, मुसा र ढुसीबाट मुक्त बनाउनका लागि पनि यस्ता आधुनिक भकारीहरु (कोकुन व्याग) प्रयोग विश्वभर नै बढ्दै गईरहेको पाइन्छ ।
नेपालमा पनि पोष्ट हार्भेष्ट निर्देशनालय, नार्कबाट परीक्षण प्रमाणित गरी खाद्य सुरक्षाका लागि उपयुक्त आधुनिक भकारी (कोकुन व्याग) हरु सहकारी संस्था, बीउ उत्पादक तथा कम्पनीहरु एवं धान, गहुँ, मकै लगायतका कृषि उपजको ठूला कारोबार गर्नेहरुले यस्को प्रयोग गरेको देखिन्छ ।
एक हजार किलो कृषि उपज भण्डारण गर्न क्षमता भएको आधुनिक भकारी (कोकुन व्याग) नेपालमा पनि प्रयोग बढ्दै गईरहेकोछ । यस्ता भकारीहरु (कोकुन व्याग)मा भण्डारण गरिएका कृषि उत्पादनहरु दशदेखि पन्ध्र बर्षसम्म भण्डारण गर्न सकिने कृषि बैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४