शुक्रबार, बैशाख ७, २०८१

खाद्य संस्थानले धान संकलन लक्ष्य घटाउदैं

कैलाली, २० पुस । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले वर्षेनी धान संकलनको लक्ष्य घटाउदैं लगेको छ । पछिल्लो तीन वर्षको तथ्यांक अनुसार संस्थानले धान संकलनको लक्ष्य घटाउदैं लगेको तथ्यांकले देखाएको छ । खाद्य संस्थान अञ्चल कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ५७ हजार क्विन्टल धान संकलन गरेकोमा आर्थिक वर्ष २०७३/७४ मा ५० हजार क्विन्टल धान संकलन गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४५ हजार क्विन्टल धान संकलन लक्ष्य राखेको छ । तीन वर्षको अवधिमा खाद्य संस्थान अञ्चल कार्यालयले धान संकलन लक्ष्य १२ हजार क्विन्टल कम गरेको छ ।
धान उत्पादनमा राम्रो मानिएको तराईका जिल्लामा खाद्य संस्थानको धान संकलन लक्ष्य कम भइरहेको देखिन्छ । तर, कृषि विकास कार्यालयको तथ्यांकमा वर्षेनी धान उत्पादनमा वृद्धि भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा तीन दशमलव ३४ प्रतिशतले धान उत्पादनमा बृद्धि भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा नौ हजार चार सय ७१ मेट्रिक टन धान बढी उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा ७१ हजार सात सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७१ हजार सात सय १० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा दुई लाख ९२ हजार छ सय ९५ मेट्रिक टन धान उत्पादन थियो ।
खाद्य संस्थानका निमित्त अञ्चल प्रमुख गंगादत्त पन्तले केन्द्रले नै धान संकलनको लक्ष्य तोकेर पठाउने गरेको बताए । ‘केन्द्रले दिएको बजेट र तोकिएको लक्ष्यभन्दा बढी हामीले धान, गहु र चामल संकलन गर्न सक्दैनौं’ उनले भने ।
संस्थानलाई यस वर्ष दिएको लक्ष्य अनुसार सोमबारसम्म ४३ हजार पाँच सय क्विन्टल धान संकलन गरिसकेको उनले बताए । अहिले संस्थानले धान एक हजार नौ सय ५० रुपैयामा धान खरिद गरिरहेको जनाएको छ । गत वर्ष शुरुमा यहि रकममा धान खरिद गर्ने निर्णय भएपछि संस्थानलाई धान संकलन लक्ष्य अनुसार गर्न कठिनाई भएको थियो । संस्थानले पछि दुई हजार एक सय रुपैयामा धान संकलन गर्न शुरु गरेको थियो ।खाद्य संस्थानले सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी, दार्चुला र जुम्लामा गरि १३ हजार तीन सय २८ क्विन्टल चामल ढुवानी गरिसकेको जनाएको छ ।
खाद्य संस्थानका अनुसार बाजुरामा ३० हजार, बझाङमा छ हजार पाँच सय, बैतडी, दार्चुलामा छ/छ हजार र अछाममा दुई हजार पाँच सय क्विण्टल माग भएको उल्लेख गरेको छ ।खाद्य संस्थानमा अहिले ४३ हजार पाँच सय क्विन्टल धान, १० हजार आठ सय क्विन्टल चामल र चार हजार चार सय क्विन्टल गहु“ मौज्दात रहेको जनाइएको छ । – शेरबहादुर ऐर

प्रकाशित मिति: बिहिबार, पुस २०, २०७४