शुक्रबार, चैत्र १६, २०८०

कैलालीमा सामूहिक मौरीपालन

धनगढी, असार  । कैलालीको घोडाघोडी नगरपालिकाको सुखडका १८ जना कृषकले सामूहिक मौरीपालन गर्न थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चालू आर्थिक वर्षदेखि उनीहरूले लालीगुराँस मौरीपालन कृषक समूह गठन गरेर मौरीपालन गर्न थालेका हुन् । पहिलेदेखि नै मौरीपालन गर्दै आए पनि यो वर्षदेखि वृहत् र व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको समूहका किसान विष्णु सुवेदीले बताए । mauripalan
जिल्लाका सुखड, मसुरिया, साडेपानी, चौमाला मौरीपालनका लागि पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रमा हुँदैआएको मौरीपालनलाई वृहत् र व्यावसायिक बनाउने उद्देश्यले चालू आर्थिक वर्षदेखि सामूहिक मौरीपालनतर्फ अग्रसर भएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानले यो वर्ष ७५ वटा आधुनिक घार अनुदानमा पाएका छन् । दुई लाख ८२ हजार रुपियाँ बराबरको ती मौरी घार कृषक समूहलाई उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कोमल शाहीले बताए । किसानलाई व्यावसायिक मौरीपालनसम्बन्धी तालिम समेत प्रदान गरिएको छ । पकेट घोषित क्षेत्रमा मौरीपालनको सम्भावनै सम्भावना छ । बजारको समस्या छैन तर मह उत्पादनमा भने समस्या देखिएको मौरीपालनमा संलग्न किसान विष्णु सुवेदीले बताए । उनले भने घारमा मह उत्पादन राम्रो हुन सकेको छैन । तोरी र जामुन फुल्ने सिजनमा पनि निकै कम मह उत्पादन भएको छ ।
व्यावसायिक मौरीपालन गर्दा एक वर्षमा तीनपटक मह निकाल्न सकिने किसानले बताएका छन् । एक घारबाट वार्षिक २० किलो मह उत्पादन हुने गरेको उनीहरूको भनाइ छ ।
मौरीपालन व्यवसायलाई मह उद्योगका रूपमा विकास गर्ने लक्ष्यसहित पकेट क्षेत्रमा व्यावसायिक मौरीपालनलाई विस्तार गरेको वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले बताए । उनले समूहले तीन वर्षभित्र पाँच सय मौरी घार पु¥याउने लक्ष्य रहेको जानकारी दिए हामीले अनुदान सहयोग गर्दा नै समूहले तीन वर्षभित्र मौरी घार सङ्ख्या पाँच सय पु¥याउनुपर्ने भनेर सम्झौता गरेका छौं, यदि किसान समूहले लक्ष्य भेटेनन् भने सहयोग अनुदानमा निरन्तरता हुँदैन, उनले भने ।
मौरी पकेट क्षेत्रमा उत्पादन भएको मह स्थानीय गाउँघर, धनगढी, नेपालगञ्ज, अत्तरिया, टीकापुर लगायतका बजारमा खपत हुने गरेको किसानले बताएका छन् । –अविनाश चौधरी

प्रकाशित मिति: शुक्रबार, असार २, २०७४