मङ्लबार, बैशाख ४, २०८१

केरा बगानको सफाइ गर्दै किसान

चितवन,जेठ । एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ ।

पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो । करिब रु ४० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

केरा बगान सफाइ गरिरहेका कालिका नगरपालिका– ५ का दीपेन्द्र चौधरी केरा नष्ट भएपछि निकै चिन्तित भएका छन् । खेताला लगाएर बगान सफाइ गरिरहेका उनले, “बिक्री गर्ने समयको केरा यसरी क्षतविक्षत हुँदा मन रोएको छ ।” यतिबेला हँसिया र बन्चरोको सहायताले बगान सफाइको काम भइरहेको छ ।

चौधरीको १३ बिगाहा जमिनमा केरा बगान थियो । उनका अनुसार कम्तीमा पनि रु ५० लाखको क्षति भएको छ । दश वर्षदेखि केराखेती गर्दै आएका चौधरीको परिवारले यसवर्ष बिमा नगरेका कारण झन बढी क्षति व्यहोर्नु पर्ने भएको छ । कालिका नगरपालिकाका किसानमध्ये सबैभन्दा बढी चौधरी परिवारकै क्षति भएको छ । हावाहुरी र असिनाका कारण उठ्नै नसक्ने गरी थला परेको उनी बताउछन् ।

चौधरी हावाहुरीपीडित केरा किसानका प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै धेरै किसान हावाहुरीका कारण प्रभावित भएका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५