शुक्रबार, बैशाख ७, २०८१

कृषि विकास बैंकको ऋणले कृषि कर्मतिर

झापा, ११ माघ । सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् ।
कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका २१ जना व्यवसायीले कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
उनीहरूले व्यावसायिक रुपमा गाईपालन, माछापालन, च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, फलफूल, तरकारीलगायत उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताए । उनले भने – “केही वर्षअघिसम्म किसानमा कृषि विकास बैंकले लगानी गर्दैन भन्ने मानसिकता थियो, अहिले व्यावसायिक कृषिकर्मका लागि कृषि कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ ।”
शाखा कार्यालय बिर्तामोडले ८०० ग्राहकका लागि लगानी गरेको कूल कर्जा रु ६२ करोड नौ लाखमध्ये युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरिएको उनले बताए । सो कर्जामा सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान किसानलाई दिने गरेको छ ।

प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४