शनिबार, बैशाख ८, २०८१

कृषि विकास मन्त्रालयमा सरुवा आतंक

काठमाडौं, असोज । निजामती कर्मचारीहरुको सरुवाको विवाद हरेक मन्त्रालय भित्र हुने गरेको भएपनि ती विवाद राजनीतिक कारणले नै हुने गरेको छ । कृषि विकास मन्त्रालयले आफू मातहतमा रहेका ७८ जना उपसचिव स्तरका कर्मचारीहरुलाई व्यापक सरुवा गरेको छ । कृषि मन्त्री गौरीशंकर चौधरीको सचिवालयले आफ्नो पार्टी निकट कर्मचारीहरुलाई छानी छानी राम्रा जिल्लामा पठाएको आरोप लागेको छ । कृषि विकास मन्त्रालय वा अन्तर्गत कार्यरत राजपत्रांकित द्धितिय श्रेणीका ७८ जना कर्मचारीहरुको सरुवाको विषयलाई लिएर नेपाली कांग्रेस निकट कर्मचारीहरु भने रुष्ट बनेका छन् । ministry-of-agriculture
नेकपा माआवाद केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकार भएको भएपनि सरुवामा विपक्षी दल जस्तै गरेर एकतर्फी ढंगले सरुवा गरेको कांग्रेस निकट कर्मचारीले आरोप लगाएका छन् । पछिल्लो समयमा जिल्ला कृषि विकास कार्यालयहरुका अनुदान बजेट धेरै जान थालेपछि उपसचिव स्तरका कर्मचारीहरु जिल्ला सरुवामा बढी रुचि देखाउन थालेका छन् । राम्रा बजेट भएको जिल्लामा सरुवा हुनका लागि त आर्थिक चलखेल समेत हुने गरेको देखिन्छ । विगतदेखि नै कृषि विकास मन्त्रालयको सरुवामा आर्थिक चलखेललाई प्रमुख प्राथमिकता दिन थालेपछि सरुवा हुनु एक महिना अगाडिदेखि नै जिल्लाका कर्मचारीहरु समेत मन्त्रालय केन्द्रित भएका देखिन्थे । त्यत्तिमात्र होइन अहिले मन्त्रालयमा गरिएको सरुवामा माओवादी केन्द्र निकट कर्मचारी संगठनकै बढी हात रहेको पनि बताइएको छ । कृषि विकास मन्त्रालयमा गरिएको ७८ जना उपसचिव स्तरका कर्मचारीको सरुवाले मन्त्रालयमा आतंक मच्चिएको छ । कृषि विकास मन्त्रालयको सरुवाको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरिएको बताइएको छ । अहिले कृषि विकास मन्त्रालयमा कृषि मन्त्री र राज्य मन्त्री दुई मन्त्री भएपछि सरुवमा व्यापक आर्थिक लेनदेन चलेको समेत रुष्ट कर्मचारीहरुले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, अशोज १०, २०७३