शुक्रबार, बैशाख ७, २०८१

कृषि राज्यमन्त्री मकैबारी पुगेर घोगा लाग्ने हो ?

बारा, चैत्र । तराईका बारा लगायतका केही जिल्लामा मकैका घोगा नलागेपछि किसानहरु चिन्तामा परेका छन् । किसानहरुले एग्रोभेटहरुबाट खरिद गरेर ल्याएको गुणस्तरीय बीउले उत्पादन दिएन । मकैको घोगामा दाना नलागेपछि किसानहरुले जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय तहमा गएर उजुरी पनि गरे ।
तर उजुरीको सुनुवाई कति भयो कति भएन आफ्नै ठाउँमा छ । विगतका वर्षमा पनि तराईका केही जिल्लामा मकैको घोगामा दाना लागेको थिएन । अहिले पनि त्यस्तै भयो । मकैको घोगामा दाना नलागेपछि कृषि राज्यमन्त्री रामकुमारी चौधरी शनिबार बारा पुगिन् । झण्डा हल्लाउँदै मकै वारीको छेउमा पुगेकी राज्यमन्त्री चौधरी गाडीबाट ओर्लेर बारीको डिलमा पुगेर मकै बारी नियाल्न थालिन् !
राज्यमन्त्रीलाई त्यहाँ बारीमा लगाएको मकैमा दाना नलागेको गुनासो किसानहरुले गरे । राज्यमन्त्री मकैको घोगा हेरिन् र फर्किन् । के अव मकैमा दाना लाग्ला ? मन्त्रीले मकैको बारीमा गएर घोगा हेर्ने कि गुणस्तरहीन वीउ विक्री गर्ने वितरक र व्यापारीलाई कार्वाही गरी किसानलाई क्षतिपूर्ति भराउने ? प्रश्न जटिल छ । विगतदेखि नै किसानहरुले यस्तै गरी गुणस्तहीन वीउका कारण उत्पादन लिन सकेका छैनन् । मन्त्रीहरु फिल्डमा जाने भत्ता पकाउने तर किसानका समस्या समाधान नगर्ने परिपाटी विगतदेखि नै छ । त्यसैले राज्यमन्त्री चौधरीले मकैको घोगा हेरर मात्र भएन किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने र वीउ व्यापारीलाई कार्वाही गर्ने आँट गर्लिन त ?

प्रकाशित मिति: आइतवार, चैत्र ११, २०७४