शुक्रबार, बैशाख ७, २०८१

कृषि बीमाप्रति आकर्षण बढ्दो

हेटौडा, २५ पुस । सरकारले सुरु गरेको कृषि बीमाप्रति मकवानपुरका कृषकको आकर्षण बढ्दो छ । गत तोरी बालीको बीमाबाट बाली बीमा सुरु भएकोमा तरकारी र धान बालीमासमेत कृषकले बीमा गराएका थिए । मकवानपुरमा भने भर्खरै मात्र कृषि बीमाको सुरुवात भएको छ ।

गत वर्ष मकवानपुरमा एक करोड ४० लाख रुपियाँभन्दा बढीको कृषि बीमा भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ । प्राकृतिक विपत्ति र रोगका कारण कृषिमा क्षति भई किसानले बेहोर्नु नपरोस् भनेर र किसानलाई कृषि क्षेत्रमा निरन्तरता दिनका लागि बाली बीमा कार्यक्रम ल्याइएको हो । जिल्ला कृषि विकास कार्यालय मकवानपुरले बाली बीमालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस वर्ष हेटौंडा उपमहानगरपालिका १३ स्थित पदमपोखरीमा व्यावसायिकरूपमा गरिएको च्याउ खेतीको बाली बीमा गरिएको छ । च्याउ कृषकले १० लाख रुपियाँ बराबरको बीमा गराएका जिल्ला कृषि विकास कार्यालय मकवानपुरकी बाली विकास अधिकृत रचना देवले जानकारी दिनुभयो ।
गत वर्ष मकवानपुरमा तोरी बालीको बीमाबाट बाली बीमा सुरु भएकोमा हाल तरकारी र धान बालीमा बीमा भएको उहाँले बताउनुभयो । यस्तै चैते धानमा गत वर्ष मनहरी गाउँपालिका र हेटांैडा उपमहानगरपालिका बीमा गरिएको थियो ।
बाली बीमा गर्ने कृषकले तोकिएको मापदण्डभित्र रहेर बाली लगाउने र सबै अभ्यास पूरा गरेपछि १५ दिनभित्रमा अभिकर्तामार्फत बाली बीमा गर्नुपर्ने प्रावधान रहेको छ । गत वर्ष तोरी, चैते धानसँगै आलु, प्लास्टिक टनेलभित्रको गरिएको गोलभेंडा, काउलीलगायतका खेतीमा थाहा नगरपालिका, फाखेल, हटियालगायतका स्थानका कृषकले बाली बीमा गराएका थिए ।

प्रकाशित मिति: मङ्लबार, पुस २५, २०७४