शनिबार, बैशाख ८, २०८१

कृषि प्राविधिक कर्मचारीलाई सरकारबाटै सौतेनी व्यवहार

काठमाडौं, फागुन । भन्नलाई मुलुक कृषि प्रधान देश भनेर भन्ने गरिन्छ । तर गर्ने बेलामा कृषिमा आवद्ध भएकाहरुलाई सौताको व्यवहार गरिन्छ भन्ने आरोप लाग्दै आईरहेको छ। विशेष गरी मुलुक संघीय संरचनामा गईसकेपछि कर्मचारी समायोजनका विषयलाई लिएर यसो भनिएको पनि हो ।
अहिले कर्मचारी समायोजनका समयमा प्रशासनिक कर्मचारीहरुलाई भन्दा कृषि प्राविधिक कर्मचारीहरुलाई ठ्याक्कै सौताको व्यवहार गरियो भन्दै कर्मचारीहरु रुष्ट भएका छन् । मुलुकलाई समृद्ध बनाउनका लागि कृषि उत्पादन पाँच वर्षमा दोव्वर बनाउने नारा बोकेर हिडेको सरकारले कृषि प्राविधिक कर्मचारीहरुलाई जुन किसिमको विभेद गरेको छ । त्यसले पक्कै पनि कृषि उत्पादन दोव्वर हुन्छ भन्नेमा हावादारी गफ हो भन्दा फरक नपर्ला ।
हुन त उत्पादन किसानहरुले गर्ने हो कर्मचारीहरुले होइन भन्ने प्रश्न पनि आउन सक्ला तर किसानहरुलाई दिने प्राविधिक सल्लाह वा बोट विरुवा वा वालीनालीमा लाग्ने रोगको उपचार तिनै प्राविधिकहरुले नगर्ने हो भने उत्पादन लिन पक्कै पनि सकिँदैन ।
केही वर्ष अगाडि पनि निजामती सेवामा नै रहेका प्राविधिक कर्मचारीहरुलाई क्लष्टरका नाममा व्यक्तित्व विकासका लागि असर पुग्ने गरी सचिव बन्न रोक लगाईयो । प्राविधिक कर्मचारीबाट बढुवा हुने सचिव क्लष्टरका आधारमा मात्र हुने भन्ने नीति पक्कै पनि प्राविधिक कर्मचारीहरुको हितमा थिएन र छैन पनि ।
अहिले पुन त्यही प्रयास गरिएको छ । तीन तहको सरकार बनिरहँदा पनि र मुलुको आर्थिक समृद्धि ल्याउने महत्वपूर्ण पाटोको रुपमा रहेको कृषि प्राविधिक माथि गरिएको यस्तो विभेदकारी नीति निर्णयले मुलुकको आर्थिक समृद्धिको नारा, नारामा मात्र सिमित हुने देखिन्छ ।
कृषि क्षेत्रको विकासका लागि स्वदेशी लगानी भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सरकारले ल्यायो । सोही अनुरुप पाँच वर्षमा कृषि उत्पादन दोव्वर बनाउने कुरा आयो । कृषिमा मुलुक आत्मनिर्भर हुन्छ भन्ने गफ पनि गरियो तर ती सवै गर्नका लागि सेतुका रुपमा जिम्मेवारी बहन गर्ने कृषि प्राविधिक कर्मचारीहरुलाई प्रशासन सेवा कर्मचारीहरुलाई भन्दा तल पारियो हेँला गरियो ।
सरकारको बोली एकातिर र व्यवहार अर्कोतिर हो कि या कृषि क्षेत्रमा काम गर्नेहरुलाई त्यसैगरी दवाउन सक्यो भने मात्र काम गर्दछन् भन्ने सोच मौलाउँदै गएको हो त्यस विषयमा भने नीति निर्माताहरु एवं स्वयम् कृषि प्राविधिक सेवामा कार्यरत कर्मचारीले पनि सोच्ने बेला आएन र ?

प्रकाशित मिति: बिहिबार, फाल्गुन २, २०७५