मङ्लबार, बैशाख ११, २०८१

कृषि प्रसारको पहुँच १७ प्रतिशत किसानमा मात्र

काठमाडौं, असोज । कृषि मन्त्री रामकृष्ण यादवले बाढी पीडित किसानहरुलाई राहतका नाममा कुनै हालतमा अन्याय हुन नदिने बताएका छन् । कृषि पत्रकार समाज, नेपाल र कृषि पत्रकार प्रतिष्ठानमा आवद्ध कृषि पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । ministry-of-agriculture
कृषि क्षेत्रको विकासका लागि कृषि सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका खेल्ने भएकाले कृषि विकास मन्त्रालय र कृषि पत्रकारहरु वीचको सम्वन्ध नङ्ग र मासु जस्तै भएको समेत उनले बताए । आफूहरु चुनावी सरकारमा सामेल भएकै कारण कतिपय उपलब्धीहरु बाहिर ल्याउन नसकेको उनले स्वीकार गरे । राजनीतिक अस्थिरताका कारण कृषि विकास मन्त्रालयका कतिपय योजना र स्थलगत कार्यक्रमहरु हेर्न नसकिएको भन्दै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर आफू अगाडि बढिरहेको समेत बताए ।
कृषि विकास मन्त्रालयले कृषि पत्रकार समाज र कृषि पत्रकार प्रतिष्ठान दुवै संस्थासँग सहकार्य गरेर अगाडि बढ्नेमा पनि जोड दिएका थिए ।
कार्यक्रममा कृषि राज्यमन्त्री सरीता प्रसाइँले ३७ बर्ष संघर्षपूर्ण राजनीति गरेर आफू अहिले राज्यमन्त्री भएको भन्दै कृषि क्षेत्रको विकासमा नयाँ सन्देश दिन चाहँदा चाहँदै पनि विविध कारणले गर्न नसकिएको बताईने ।
सो कार्यक्रममा कृषि सचिव डा सुरोज पोखरेलले ६७ प्रतिशत जनता कृषिमा संलग्न भएको भएपनि कृषि प्रसारको पहुँच १७ प्रतिशत मात्र भएको खुलासा गरे । उनले कृषि सूचनाको पहुँचका लागि कृषि सञ्चार माध्यम नै महत्वपूर्ण भएकोले कृषि सञ्चार माध्यमहरुलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा कृषि विकास मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले मन्त्रालय र सञ्चार माध्यमवीचको सहकार्यले नै तल्लो तहका किसानसम्म कृषि विकास मन्त्रालयले गरेका नीति कुराहरु पुग्न सक्ने बताए । उनले आफूहरुले कृषि सञ्चारको विकासका लागि पहल पनि गरिएको बताए ।
सोही कार्यक्रममा बोल्दै मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव काशीराज दाहालले आफूले करिव ३ वर्ष कृषि विकास मन्त्रालयमा काम गरेका आधारमा हेर्ने हो भने कृषि क्षेत्रको सुधारका लागि कृषि सञ्चार माध्यमले ठूलै भूमिका निर्वाह गरेको बताए ।
कृषि मन्त्री र पत्रकारवीच भएको सो अन्र्तक्रिया कार्यक्रममा बोल्दै कृषि पत्रकार समाज, नेपालका अध्यक्ष एवं कृषि साप्ताहिक तथा अनलाइनका सम्पादक वैकुण्ठ भण्डारीले आधा दशकदेखिको कृषिका योजनालाई हेर्ने हो भने ती योजनाले कृषि क्षेत्रको विकास नहुने बताए । उनले कृषिमा व्यवसायिकताको नारा दिएर अनुदानका नाममा खर्च गरिएपनि त्यो केवल बालुवामा पानी हाले जस्तै भएको बताए ।
अन्र्तक्रिया कार्यक्रममा कृषि क्षेत्रमा कलम चलाउने विभिन्न कृषि पत्रकारहरुले कृषि क्षेत्रको विकासमा देखिएको समस्या र चुनौतिका बारेमा आआफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमवार, अशोज २३, २०७४