मङ्लबार, बैशाख ४, २०८१

कृषि प्रधान देश कि किसान प्रधान देश ?

 Yogendra-योगेन्द्र प्रताप शाही :

धेरै अगाडिदेखि नेपाललाई कृषि प्रधान देशका रुपमा परिचितगराउँदै आईरहेको देख्न सकिन्छ । विगत केही दशक अगाडिसम्मको कुरा गर्ने हो भने नेपाली किसानहरु परम्परागत कृषि प्रणाली अपनाउँदै निर्वाहमुखी खेती गर्दै आईरहेको कतै लुकाउनु पर्दैन । तर त्यत्तिका भरमा नेपाललाई कृषि प्रधान देश भन्ने हो भने त्यो जस्तो लाजमर्दो कुरा अरु केही नि हुन सक्दैन ।
यद्यपी त्यत्ति कुराले मात्र नेपाललाई कृषि प्रधान देश भनेर भनिएको भने पक्कै होइन । हाम्रा किसानहरुले उत्पादन गरेका खाद्यवालीहरु धान, गहुँ मकै जस्ता अन्न बालीहरु विदेश निर्यात भएका तथ्याङ्कहरु प्रशस्तै  पाउन सकिन्छ । नेपालमा उत्पादन भएका खाद्यबालीहरु आम नेपाली जनतालाई प्रशस्त पुगेर पनि बढीभएको बाली निर्यात गर्ने नेपाली किसानहरु यतिखेर भने खाद्यवालीहरु विदेशबाट आयात गरेर खानुपर्ने वाध्यता देखिएको छ । मुलुकमा अरबौं रुपैयाँको खाद्यान्न यतिखेर अन्य मुलुकबाट आयातगर्नुपर्नेकारण खोजीको विषय कहिल्यै  पनि बन्न सकेन । कृषिको विकास लागि स्थापना भएको कृषि विकास मन्त्रालयमा राजनीतिक खिचातानी र कमाई खानेभाँडोका रुपमा विकसित हुनुले पनि नेपाल वास्तवमै कृषि प्रधान देश हुन नसकेको हो भन्दा कसैले नाक खुम्च्याउनुपर्ने अवस्था भने रहँदैन । कृषि विकास मन्त्रालयमा मन्त्री भएर जाने मन्त्री हुन वा स्थायी सरकारका रुपमा रहने प्रशासन संयन्त्र रुपी सचिवहरु नै किन नहुन् कृषि क्षेत्रको विकासका लागि भन्दा पनि आफ्नै विकासका लागि क्रियाशील रहेका घटना भनिरहनु पर्दैन होला ? तर पनि विश्वभर खाद्य संकटका कुराहरु उठिरहेका बेला नेपाल जस्तो कृषि प्रधान भनिएको देशमा खाद्य बालीहरु उत्पादनमा कमी हुनु राज्यको निरिहतापन हो भन्दा फरक  पर्दैन ।
राज्यले जति नै फोस्रा नारा धन्काउने गरेको भएपनि भूउपयोग नीतिलाई कार्यान्वयन गर्न नसक्दा आज लाखौ हेक्टर जमीन बाँझो खेतमा परिणत हुन थालेका छन् । बेरोजगारी उत्पादन मात्र मुलुकमा भएको छ । रोजगारीका लागि कृषि क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल हुने भएको भएपनि राज्यले त्यसतर्फ ध्यान दिन नसकेकै कारण युवा पुस्ता मरुभूमिको खाडीमा आफनो पसीना बगाउन वाध्य भएका छन् । आफ्नै माटोमा सुन फल्ने थाहा हुँदा हुँदैपनि युवाहरु परदेश गएर त्यहाँका मरुभूमिलाई उर्वरबनाउन लालायित भएका छन् । सरकारले चाहने हो भने मुलुकमा युवाहरुलाई कृषिमा संलग्न  गराउने नीति ल्याई माध्यमिकतह देखि नै कृषि सम्वन्धि प्राविधिक शिक्षामा जोड दिने हो भने नेपाल किसान प्रधान देश होइन वास्तविक कृषि प्रधान देशबनाउने सकिन्छ । सरकारले भूउपयोग नीतिलाई कडाईगर्ने हो र छिमेकी राष्ट्र भारतमा जस्तै  किसानहरुका लागि आर्थिक सहयोग वा र्निव्याजी ऋण मात्र उपलब्ध गराउन सक्ने हो भने पनि कृषि पेशामा उत्पे्ररित गर्न सकिन्छ ।
किसानहरुलाई भोट वैकका रुपमा विकसित गर्ने र कृषि क्षेत्रको विकासमा ध्यान नदिने राजनीतिक बर्ग, प्रशासक बर्गहरुका कारणले नै गर्दा मुलुक कृषि प्रधानदेशबाट किसान प्रधानदेश तर्फ उन्मूख भएका्े हो भन्दा नै अत्यूक्ति होला । त्यसैले पनि सरकारमा जानेहरुले कृषि पेशामा संलग्न हुनेहरुका लागि  पेशाको ग्यारेण्टी सहितको योजनाहरु ल्याउन सके मुलुकको आर्थिक मेरुदण्डको विकास मात्र होइन खाद्य संकटबाट पनि मुलुकलाई बचाउन सकिन्छ  ।

प्रकाशित मिति: सोमवार, माघ ६, २०७०