शुक्रबार, चैत्र १६, २०८०

कृषिमा यान्त्रीकरण बढ्दो

बागलुङ । लागत कम गरी उत्पादन बढाउन कृषि बालीमा उन्नत प्रविधिको प्रयोग बढेको छ । जिल्ला कृषि विकास कार्यालय र किसानको निजी प्रयासमा कृषिलाई यान्त्रीकरणतर्फ उन्मुख बनाइएको हो । खाद्यान्न, तरकारी र फलफूल बालीलाई यान्त्रीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक कार्ययोजनामार्फत त्यस्ता प्रविधि हस्तान्तरण, सीप तथा क्षमता विकासका कार्यक्रम गाउँस्तरमा विस्तार गरेको छ । कम लागतमा कम जनशक्तिको प्रयोग गर्दै कृषि उत्पादनमा क्षति घटाउने उद्देश्यले कृषिको यान्त्रीकरणमा जोड दिइएको बागलुङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । कार्यालयले सबै किसानको मागलाई सम्बोधन गर्न नसक्ने हुँदा प्रविधि प्रयोगलाई प्रसार विधिमार्फत विस्तार गर्न कार्यक्रम सुरु गरेको रिजालको भनाइ छ । “कार्यालयले मात्रै यान्त्रीकरणका लागि सबै काम गर्न सक्दैन, सबैलाई प्रविधियुक्त प्रणाली पनि दिलाउन सक्दैन”– रिजालले भन्नुभयो–“तर किसानलाई प्रविधिको प्रयोग गर्न सिकाउँछ, किसानलाई यान्त्रिक पद्धतिमा काम गर्न सिकाउनु नै हाम्रो लक्ष्य हो ।” परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रीकरणको आवश्यकता परेको रिजालले टिप्पणी छ । कृषि कार्यालयले बर्सेनि किसानलाई लक्षित गरी विभिन्न कृषि यन्त्रहरु प्रदान पनि गर्दै आइरहेको छ । खाद्यान्न बालीतर्फ थ्रेसर, कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रिन ब्याग त्यस्तै तरकारी बालीतर्फ आरा, करौँती, सिकेचर, कैँचीजस्ता यान्त्रिक वस्तुहरु प्रदान गर्ने गरेको छ । कार्यालयले निश्चित अनुदानमा किसानलाई यन्त्रहरु दिने गरेको छ । “यो वर्ष मात्रै हामीले पाँचवटा यान्त्रिक हलो प्रदान गरिसकेका छौँ, थप १४ वटा हलोको माग छ, हामी दिन्छौँ”–कृषि प्रसार अधिकृत विप्लव अधिकारीले भन्नुभयो । ५० प्रतिशत अनुदानमा कार्यालयले यान्त्रिक हलो प्रदान गर्ने गरेको छ । बर्सेनि मागअनुसार किसानलाई यान्त्रिक प्रविधिहरु सहयोग गर्न नसकिए पनि  कार्यालयलाई तोकिएबमोजिम त्यस्ता यान्त्रिक प्रविधिहरु किसान कहाँ पु¥याइएको उहाँले जानकारी दिनुभयो । काम छिटो, छरितो र सजिलो पनि हुने तथा लागत र जनशक्ति पनि कम लाग्ने भएपछि किसान पनि यान्त्रिक प्रविधिको प्रयोगमा हौसिएका हुन् । चार हल गोरुले जोत्ने खेत एउटै यान्त्रिक हलोले जोत्ने गरेको छ अधिकारीले भन्नुभयो, “किसानले पहिले यान्त्रिक हलोले जोतेको राम्रो हुँदैन पनि भन्थे र अहिले जहाँतहीँबाट माग आइरहेको छ ।” कार्यालयले धान बत्ताउन प्रयोग हुने पङ्खाहरु पनि दिने गरेको छ । त्यस्तै अत्याधुनिक मौरीघार, महदानी, पञ्जा, टोपीलगायतका यान्त्रिक सामान पनि किसानलाई दिने गरिएको छ । समूहगत र व्यक्तिगत दुवै आधुनिक कृषि प्रणाली अपनाउन चाहने जुनसुकै किसानलाई कार्यालयले यान्त्रीकरणमा सहयोग गर्ने बताएको छ । आवश्यक प्रक्रिया पु¥याई निवेदनसाथ कृषि कार्यालयमा आएमा सक्दो सहयोग गर्न कार्यालय तयार रहेको वरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो । पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रका किसान पनि कृषिलाई यान्त्रीकरण गर्नेतर्फ अग्रसर बनेका देखिन्छन् । परम्परागत खेती प्रणालीबाट उब्जाउ पनि कम हुने र लगानी पनि बढी लाग्ने हुँदा किसान सरल र कम लागतको यान्त्रिक प्रविधिमा आकर्षित हुन थालेका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७०