शनिबार, बैशाख ८, २०८१

कृषिको व्यवसायीकरणबाट आर्थिक उन्नति र सामाजिक विकासमा जोड

ललितपुर, २६ फागुन । ललितपुर जिल्लाको २३ औँ जिल्ला परिषद्ले कृषिको व्यवसायीकरणबाट आर्थिक उन्नति र सामाजिक विकासमा जोड दिएको छ । जिल्ला विकास समिति ललितपुरद्वारा यहाँ आयोजित जिल्लाको २३ औँ परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममा स्थानीय विकास अधिकारी पशुपति पोखरेलले कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यवसायीकरणमा जोड दिँदै कृषि क्षेत्रमा थप रकम विनियोजन गरिएको बताउनुभयो ।     उहाँले जिविसले पिछडिएका जाति, समुदाय तथा भौगोलिक क्षेत्रको विकासका लागि लक्षित कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।
रोजगारी तथा आर्थिक वृद्विका लागि सहकारीको माध्यमबाट कृषि तथा पशुपालनको व्यवसायीकरण बजेटको उद्देश्य भएको चर्चा गर्दै पोखरेलले पर्यटकीय क्षेत्रको पहिचान, आन्तरिक स्रोतको अभिवृद्धिका माध्यमबाट आत्मनिर्भर गराउने सोच राखिएको बताउनुभयो । परिषद्ले सडक, खानेपानी, सिँचाइ, भवन निर्माण, पुल, कल्भर्ट निर्माण, कृषि, महिला, बालबालिकालगायत अन्य लक्षित समूह कार्यक्रम एवं भौतिक पूर्वाधार निर्माणजस्ता शिर्षकका लागि बजेट तय गरेको छ । सार्वजनिक गरिएका नीति तथा कार्यक्रमका आधारमा जिविसले आर्थिक वर्ष २०७१÷७२ का लागि जिल्लाको कुल रु चार अर्ब पाँच करोड १५ लाख ९३ हजार विनियोजन गरेको छ ।– कृषि

प्रकाशित मिति: सोमवार, फाल्गुन २६, २०७०