शुक्रबार, बैशाख ७, २०८१

कुखुरा व्यवसायमा राम्रो रोजगारी

विराटनगर, १२ पुस । एक लाखभन्दा बढीलाई रोजगारी दिइरहेको कुखुरा व्यवसायमा बर्डफ्लु रोग रोकथाम एवम् नियन्त्रणका लागि सचेतना अपनाउनुपर्ने बिहीबार यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । कृषि विकास मन्त्रालय र पशुसेवा विभागको आयोजनामा भएको एकदिने गोष्ठीमा कुखुरा एवम् पशुजन्य वस्तुको व्यापार एवम् व्यवसायमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउनुका साथै क्षेत्रीयस्तरमा बर्डफ्लु रोगको रोगथाम नियन्त्रणसँग सम्बन्धित विज्ञहरूले जानकारी दिनुभएको थियो । गोष्ठीमा मोरङ, सुनसरी, सिराहा, सप्तरी तथा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीहरू, सुरक्षा अधिकारीहरू, भन्सार प्रमुखहरू तथा कुखुरा व्यवसायी र सरोकारवालाहरूको सहभागिता रहेको थियो । सो अवसरमा पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीले बर्डफ्लुबारे जनमानसमा चेतना फैलाउन सरोकारवालाहरूले सशक्त  भूमिका अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खुला सीमाका कारण तराईका जिल्लामा यसको जोखिम ज्यादा रहेको बताउँदै यसलाई नियन्त्रण गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कृषि विकास मन्त्रालयका सह–सचिव डा प्रभाकर पाठकले बर्डफ्लुका कारण कुखुरा मर्दा अहिलेसम्म क्षतिपूर्तिस्वरुप सरकारले किसानलाई रु २१ करोडभन्दा बढी क्षतिपूर्ति दिइसकेको र अझ क्षतिपूर्ति बढाउन मन्त्रालयले सरकारसँग पहल गरिरहेको बताउनुभयो । उहाँले क्षतिपूर्ति वृद्धि गर्न आफ्नो मन्त्रालयले बजार मूल्यको ५० प्रतिशत दिने सम्बन्धमा योजना तयार पारी अर्थ मन्त्रालयलाई पठाइसकेको समेत जानकारी दिनुभयो । पशुसेवा विभागका महानिर्देशक डा नरबहादुर रजवारले बर्डफ्लुका कारण अझै पनि जनमानसमा त्रास छाएकाले यो रोगबाट भयमुक्त गराउन सबैमा जनचेतना एवम् सफाइ आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की तथा क्षेत्रीय पशु निर्देशनालयका निर्देशक किशोरप्रसाद कायस्थले रोग नियन्त्रणका लागि सीमा क्षेत्रमा कडा निगरानी बढाई अवैध पैठारी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बर्डफ्लु रोग नेपालमा पहिलोपटक सन् २००९ मा झापा जिल्लाको मेची नगरपालिका–१० स्थित रमेश कार्कीको घरमा भारतबाट ल्याइएका पाँचवटा कुखुरामा देखापरेकामा हालसम्म यो रोग २२ जिल्लाको २२५ स्थानमा देखापरिसकेको जानकारी गराइयो । बर्डफ्लुका कारण एक लाख ७६ हजार ८०० कखुरा तथा तीन लाखभन्दा बढी अण्डा एवम् एक लाख ४८ हजार मासु नष्ट गरिएकोे कार्यक्रममा जानकारी गराइएको थियो । सन् १९८० देखि नेपालमा कुखुरापालन व्यवसाय सुरु भएकामा कुखुरालगायत पक्षीजन्य व्यवसायमा प्रतिवर्ष रु ६४ अर्बभन्दा बढीको कारोबार हुने गरेको छ । कुखुरापालने राष्ट्रिय अर्थतन्त्रमा ३.५ प्रतिशत योगदान गरिरहेको छ । नेपालमा बर्डफ्लुका कारण २१ जिल्ला उच्च जोखिम, २० जिल्ला मध्य र बाँकी ३४ जिल्ला न्यून जोखिममा रहेका छन् । जाडो र गर्मी दुवै मौसममा देखापर्ने बर्डफ्लु विश्वका ६८ देशमा देखापरेको सो अवसरमा जानकारी गराइयो । यही वर्ष नेपालका विभिन्न जिल्लामा ८० पटक वर्डफ्लु देखा परिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०७०