शुक्रबार, चैत्र १६, २०८०

किसान मारा शुभम् डेरीले तीन महिनादेखि भुक्तानी रोक्यो

काठमाडौं, मंसिर । डेरी उद्योगहरुले किसानहरुलाई कसरी मारमा पारिरहेका छन् भन्ने कुराको पुष्टि पछिल्लो समयमा भक्तपुरमा कारखाना रहेको शुभम् डेरीले प्रमाणित गरिदिएको छ । चितवन लगायतका जिल्लाका किसानहरुले उत्पादन गरेको दूध खरिद गरी डेरी उद्योगका साहुजी बनेका तुलसी राम सैंजुले लामो सयमदेखि किसानहरुलाई सम्झौता अनुसारको दुधको भुक्तानी दिएका छैनन् ।

दशैं अगाडिदेखि नै दूधको भुक्तानी नदिँदा अहिले किसानहरुको विचल्ली भएको छ । लाखौ रुपैयाँ उधारो दूध दिएर पठाएका किसानहरुले चाडपर्व अघि भुक्तानी दिने सहमति गरेका सैजुले भुक्तानी नदिएपछि समस्या परेका हुन् ।

नगदमा दाना किनेर ख्वाएका किसानहरु उधारोमा डेरी साहुहरुलाई दूध दिन वाध्य भएका छन् । सरकारी संस्थान दुग्ध विकास संस्थानको सहजीकरण नभएका कारण पनि किसानहरुले वाध्य भएर निजी डेरीहरुसँग सम्झौता गर्नु परिरहेको बताउँछन् ।

चितवनका धेरै किसानहरु अहिले शुभम डेरीका साहु तुलसीराम सैजुले दूधको रकम भुक्तानी नदिएका कारण तनावमा परेका छन् । यसरी किसानहरुको भुक्तानी रोक्ने ठग डेरी साहुका विरुद्ध न त किसानका नाममा राजनीति गर्ने संगठनहरुले बोलेका छन् नत किसान आयोगले नै मुख खोल्न सकेको छ ।

दुध उत्पादक किसानहरुको भुक्तानी नदिएको विषयमा शुभम् डेरीका साहु तुलसीराम सैजु सिँधै रकम दिन इन्कार गर्दछन् । ‘किसानहरुलाई मैले भनेको भुक्तानी नदिएको हुँ र दिँदा पनि दिँदिन’ सैजु भन्छन् बरु चितवनमा दूध ल्याउन नै बन्द गरिदिन्छु । सैजुले चितवनका एक दर्जन भन्दा बढी किसानहरुलाई २० लाख भुक्तानी दिन वाँकी रहेको स्वीकार गरेपनि भुक्तानी दिन भने अझै आलटाल गरिरहेका छन् ।

आफूहरुलाई सम्झौता अनुरुप सैजुलाई नियमित दूध उपलब्ध गराउँदै आईरहेको भएपनि दूधको भुक्तानी दिन उनले आलटाल गरिरहेको उल्टै राजनीतिक दलको दम्भ देखाएर धम्की दिने गरेको किसानहरुको गुनासो रहेको छ । डेरी उद्योग संघको पदाधिकारी समेत रहेका सैजुले किसानको रकम नदिएको विषयमा संघका अध्यक्ष सो विषय व्यक्तिगत भएको भन्दै पन्छने खोजेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६